खोटाङ, १९ माघ । बसले किचेर दिप्रुङ चुइचुइचुम्मा गाउँपालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी राई (मगर)को मृत्यु भएको छ । बतासेस्थित पञ्चमीबजारबाट गाईघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसमा बुहारी र दुई नातिनीलाई चढाउन जाँदा वृद्धालाई सोमबार छोरम्बुको रोभोलुङमा बसले किचेको हो ।
बसभित्रै चढेर आफन्तलाई सिटमा राखेपछि ओर्लनेक्रममा सह–चालकले ‘छिटो झर्न’ भन्दै ठेलेपछि वृद्धा कुनापट्टीको लिकमा पर्दा बसले किचेको छोरम्बुका वडासदस्य तुलस राईले बताउनुभयो । बसले किचेर गम्भीर घाइते बनेकी वृद्धाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँघुरो ठाउँमा धकेलिएर भुइमा झरे पनि वृद्धा चिप्लिएर खाल्डो परेको लिकमा पर्दा छाती र पेट तेर्सो पाङ्ग्राले पेलेको स्थानीय बासिन्दाले बताएका छन् । घटना लगत्तै बस, बसका चालक दलबहादुर पौडेल र सह–चालक अमृत कार्कीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेपछि बिस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । घटनास्थलमा प्रहरीचौकी याम्खा, प्रहरीचौकी छितापोखरी, प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी याङ्सोलाटारबाट प्रहरीको टोली पुगिसकेका छन् ।
बसका स्टाफको लापरवाहीका कारण बसले किचेर वृद्धाको मृत्यु भएपछि आफन्तहरु आक्रोशित भएका छन् । उनीहरुले दोषीलाई कानूनी कारवाही तथा मृतकका परिवारलाई क्षतिपूर्तीको माग गर्दै घटनास्थलबाट वृद्धाको शव उठाउन मानेका छैनन् ।
घटनास्थल पुगेका प्रहरी र आफन्तबीच अहिले छलफल भइरहेको जनाइएको छ । कानूनी प्रक्रिया पूरा गरेर आफन्तलाई मृतकको शव जिम्मा लगाउने तयारी गरिएको प्रहरी प्रवक्ता साहले जानकारी दिनुभएको छ ।


