खोटाङ, १२ माघ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनः निर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनः निर्माण प्राधिकरणले जनाएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनः निर्माण सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा प्राधिकरणले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
वि.सं. २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त नौँ हजार ३१० लाभग्राहीमध्ये सात हजार ३९८ घर लाभग्राहीले पुनः निर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ । पुनः निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई खोटाङका अनुसार २४२ घर लाभग्राहीले अहिलेसम्म आफ्नो निजी आवास पुनः निर्माणका लागि सम्झौता नै नगरेको जनाइएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ६० जना लाभग्राहीले दोस्रो किस्ता लिएको पुनः निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताउनुभयो । “दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनः निर्माणको काम सम्पन्न गरिसकेका छन्”, उहाँले भन्नुभयो, “पुनः निर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिने काम भइरहेको छ ।”

अन्तरक्रिया कार्यक्रममा झुटो विवरण पेश गरेर सम्झौतागरी पहिलो किस्ता बुझ्ने एक जनाबाट रकम फिर्ता तथा दोहोरो भुक्तानी लिने तीन जना लाभग्राहीबाट रकम असुल गरिएको जनाइएको छ । यस्तै, भूमिहीनलाई जग्गा खरिद गर्न उपलब्ध गराइने रु दुई लाख रकमका लागि जिल्लाभरमा पाँच जना पहिचान भएकामा चार जनाले उक्त रकम बुझेको र बाँकी एक जनासँग पनि सम्झौताको काम सम्पन्न गरिएको कार्यान्वयन इकाईका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिनुभएको छ ।
पुनः निर्माण प्रवलीकरणतर्फ ९७१ घर लाभग्राही छनोट भएकामध्ये ७८५ घरले सम्झौता गरेर काम थालेको र १८६ घरले सम्झौता नै नगरेको जनाइएको छ । सम्झौता नगर्नेमा अधिकांश जिल्ला छाडेर बाहिर घर बनाएर बसेका तथा कतिपय लाभग्राहीको मृत्युसमेत भएको पाइएको प्राधिकरणले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले कतिपय ठाउँमा नक्कली लाभग्राही बनेर अनुदान लिएको र वास्तविक लाभग्राहीले अहिलेसम्म अनुदान नपाएको गुनासो गरेका छन् । प्राधिकरणले उपलब्ध गराउने रातो कार्ड प्राप्त व्यक्तिले समेत अहिलेसम्म अनुदान नपाएको रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो ।
जिल्लास्थित सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि तथा सरोबारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले प्राधिकरणको लापरवाहीका कारण पुनः निर्माणको कामले गति लिन नसकेको आरोप लगाउनुभयो । “प्राधिकरणका कर्मचारी खोज्दा खोज्दै भूकम्प गएको पाँच वर्ष बित्यो !”, उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायको बेलैमा ध्यान जानुप¥यो । अन्यथा पुनः निर्माण सम्बन्धी प्रभावकारी काम हुने छैन ।”

पुनः निर्माण प्राधिकरणकै लगानीमा कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको कामसमेत गुणस्तरहीन भएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । याक्थुम्हाङ÷साप÷सिरुवा जेभीले रु २१ करोड एक लाख ८८ हजार १५३ मा कालोपत्रको जिम्मा लिएको उक्त सडक १०.९७४ किलोमिटर लामो छ ।
वि.सं. २०७६ चैत ७ गते सम्पन्न गर्नुपर्ने उक्त सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नभएपछि पुनः एक वर्षका लागि समय थप गरिएको छ । सगरमाथा राजमार्ग हुँदै तराईका जिल्ला जोड्ने उक्त सडक कालापत्रको काम करीब ४५ प्रतिशत मात्र सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै आयोजना प्रमुख श्यामकिशाेर सिंले छुटेका लाभग्राहीको विवरण अझै पेश गर्ने समय रहेकाले सम्बन्धित निकायमा सिफारिस गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । दिक्तेलस्थित होटल शुभदिनमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।


