काठमाडौँ, ११ माघ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पा आज वैवाहिक बन्धनमा बाँधिएका छन् । ४९ वर्षीय मुख्यमन्त्री राई २३ वर्षीया मोडल शेर्पा आज औपचारिक रुपमा विवाह बन्धनबा बाँधिएका हुन् ।
राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा मुख्यमन्त्री राई र मोडल शेर्पाले विवाह गरेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो ।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका थिए । परम्परागत विधिबाट विवाह सम्पन्न भएको जनाइएको छ ।
वैवाहिक कार्यक्रममा पर्यटनमन्त्री भानुभक्त ढकाललगायतका नेताहरु पनि पुगेका थिए । बेहुला–बेहुलीबीचको उमेर २६ वर्षको फरकमा विवाह भएको विषयमा सामाजिक सञ्जालमार्फत धेरैले टिकाटिप्पनी गरेका छन् ।


