खोटाङ, ११ माघ । भीरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जानेक्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भीरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो ।
करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताउनुभयो । धामी÷झाँक्रीको कामसमेत गर्दै आएका वडासदस्य फुुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भीरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।
फुयाँल वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी भएका थिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।
गाउँपालिका उपाध्यक्षलाई पितृशोक
ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेललाई पितृशोक परेको छ । उपाध्यक्ष भुजेलको ८८ वर्षीय बुबा भक्तबहादुर भुजेलको शनिबार निधन भएको हो ।
ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दिम्मापातेलका भक्तबहादुरको काठमाडौँबाट घर लैजानेक्रममा बाटैमा मृत्यु भएको जनाइएको छ । मृतकको शव अन्तिम सँस्कारका लागि घर लगिएको जनाइएको छ ।


