ठेकेदारको लापरवाहीले वडा कार्यालय भवन निर्माणमा ढिलाइ

Halesi Khabar

खोटाङ, ७ माघ । निर्माण व्यवसायी (ठेकेदार) कम्पनीको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नौँ वटा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्ये दुई वटा बाहेक सबै निर्माण हुन सकेको छैन ।

तत्कालीन गाविसको पुरानो भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले वि.सं. २०७७ पुस मसान्तमा सक्ने गरी नगरपालिकाको ११ वडामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण शुरु गरिएको थियो । यस अन्तरगत वडा नम्बर–१३ नुनथला र वडा नम्बर–१२ जालपामा बाहेक अन्य वडाको भवन तोकिएको समयमा कसैले निर्माण सम्पन्न गरेका छैनन् ।

करीब १०० जना अट्ने सभाहल, वडाध्यक्ष, वडा सचिव र वडा कार्यसमितिका सदस्य बस्ने चार कोठे भवन बनाउन नगरपालिकाले जिम्मा दिएको निर्माण कम्पनीहरुले निर्माणमा ढिलाइ गर्दा समयमा हस्तान्तरण हुन नसकेको जनाइएको छ । नुनथला र जालपामा भने सम्झौता गरेको मितिभन्दा अगावै सजिव निर्माण सेवाका प्रतिनिधि प्रकाश नाछिरिङले सम्पन्न गरेर हस्तान्तरण गर्नुभएको थियो ।

प्रोपाईटर प्रकाश थापा रहनुभएका सजिव निर्माण सेवाले सम्झौता गरेको नगरपालिका वडा नम्बर १५ विजयखर्कको भवनसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाको योजना शाखा प्रमुख सीताराम आचार्यले बताउनुभयो । यस्तै, केशव तमोटको इन्द्र लक्ष्मी कन्ट्रक्सन र दिनेश पौडेलको पी. आर. कन्ट्रक्सनको संयुक्त फर्मबाट ठेक्का सम्झौता भएको वडा नम्बर–१ दिक्तेलको कार्यालय भवन भर्खर पिलर हालिएको छ ।

वडा नम्बर–२ सोल्माको भवन भने अन्तिम चरणमा पुगेको नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । वडा नम्बर–४ खाल्लेमा भर्खर घडेरीमात्र सम्याएर छाडिएको जनाइएको छ । स्थान विवादका कारण भवन निर्माण कार्यमा ढिला भएको स्थानीयले जानकारी दिएका छन् ।

यता कर्ण खत्रीको रुजन निर्माण सेवा र दिलचक्र राईको दोर्पा निर्माण सेवाको संयुक्त ठेक्का सम्झौता भएको वडा नम्बर–७ दोर्पा, वडा नम्बर–८ बुवासुङ तथा वडा नम्बर–९ निर्मलीडाडाँको भवनको समेत अवस्था उस्ता रहेको छ । वडा नम्बर ७ दोर्पाको भवन अन्तिम चरणमा पुगेको नगरपालिका स्रोतेले जनाएको छ ।
वडा नम्बर–८ बुवालुुङको भवन भने एक तला ढलान सकिएको जनाइएको छ । वडा नम्बर–९ निर्मलीडाँडामा भने भर्खरै डिपिसि मात्र गरिएको वडा सचिव सञ्जिव मुग्रातीले बताउनुभयो । उक्त भवन निर्माणका लागि शुरुमा दिलचक्र राईले काम हेरेपनि अहिले रमाहाङ राईले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, जोसेफ रिजालको मोहोन एण्ड व्यासीगाउँ निर्माण सेवाले ठेक्का लिएको वडा नम्बर–१० पाथेका र वडा नम्बर–११ खार्मीको भवन भने अलपत्र अवस्थामा छ । पाथेकामा बन्ने भनिएको भवनको पिलरसम्म उठाइएको छ भने, खार्मीको भवनको डिपिसि लेबल समेत नउठेको त्यहाँका स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गरिसक्नु पर्नेमा केही वडाहरु सकिएको तथा केही अन्तिम चरणमा र केहीमा भने अति सुस्त गतिमा निर्माणको काम भएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभएको छ । “वडा कार्यालय निर्माण गर्न गरिएको सम्झौता मिति सकिएपनि कानून त अब तीन महिना थपिने छ”, उहाँले भन्नुभयो, “थपिएको समयमा समेत काम सम्पन्न नभएमा कानून अनुसार कारवाही गर्दै निर्माण कम्पनीलाई कालो सूचिमा राखिने छ ।”

वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकाले प्रत्येक वडामा रु ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो । जालपाको भवन ठेकेदार कम्पनीले रु ४७ लाखमै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको वडाध्यक्ष विकास राईले बताउनुभयो ।

पन्ध्र वडा रहेको यस नगरपालिकाको वडा नम्बर–३ बाम्राङ, वडा नम्बर–५ लफ्याङ, वडा नम्बर–६ नेर्पा र वडा नम्बर–१४ बुइपामा भने पहिल्यै सुविधा सम्पन्न भवन सञ्चालनमा छन् । जिल्लाकै सबैभन्दा ठूलो यस नगरपालिकामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया