खोटाङ, ६ माघ । सुपर खोटाङ–भोजपुर यातायात प्रा.लि.ले दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु गरेको छ । बस तथा जिप सेवा प्रदान गर्दै आएको यातायात प्रा.लि.ले मङ्गलबार दिक्तेल बजारस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रम गरेर दिक्तेल–काडमाडौँ फोटन माईक्रो भ्यान सेवा शुरु गरेको हो ।
सर्वसाधारणलाई सुलभ र भरपर्दो यातायात सेवा दिन खोटाङमा पहिलो पटक १९ सिटको सुपर फोटन माईक्रो भ्यान सेवा सञ्चालन गरिएको प्रा.लि.का अध्यक्ष आइतलक्ष्मी राईले बताउनुभयो । “पहिलो चरणमा फुडन कम्पनीका दश वटा सुपर फोटन माईक्रो भ्यान सेवा सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “स्वच्छ प्रतिस्पर्धालाई आत्मसात गर्दै आम यात्रुलाई गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौँ ।”
सुपर फोटन माईक्रो भ्यान सवारी साधानमा हिटर, कुलरसँगै जीपीएल सिष्टम, एलसीडी मनिटर लगायतका सुविधाहरु रहेको यातायात प्रा.लि.का अध्यक्ष राईले जानकारी दिनुभयो । माघ ७ गते अर्थात भोलिदेखि दिक्तेलबाट दैनिक बिहान ६ बजे र काठमाडौँबाट पनि बिहान ६ बजे फोटन माईक्रो भ्यान छुट्ने जनाइएको छ ।
दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको जनाइएको छ । दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिव्यक्ति जिपमा रु एक हजार ४५० र बसमा रु एक हजार २०० निर्धारण गरिएको छ ।
भौगोलिक चुनौति रहेको भएपनि यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रा.लि.ले कार्ययोजना बनाइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याइएको फोटन माइक्रो भ्यान सेवा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले रिबन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख रिजालले माइक्रो भ्यान सेवा सञ्चालनमा नगरपालिकाको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगमा कुनै कमी नहुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायमा प्रमुख तथा यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा दर्जनबढी यातायात प्रा.लि.द्धारा सञ्चालित सयौँको सङ्ख्यामा बस तथा जिप सेवा सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्गले छोएको खोटाङ जिल्लाबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवा जोडिएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक कालोपत्रको काम भर्खरै मात्र सम्पन्न भएर सञ्चालनमा आएको जिल्लामा पछिल्लो समय यातायात व्यवसायीबीच कडा प्रतिस्पर्धा भएको छ । यातायात व्यवसायीबीच एक अर्कामा प्रतिस्पर्धा हुँदा यात्रा गर्ने सर्वसाधारणलाई भने, सहज भएको पाइएको छ ।


