खोटाङ, ४ माघ । जिल्ला निर्वाचन कार्यालय खोटाङले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनका लागि तयारी शुरु गरेको छ । नेपाल सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगको निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालय खोटाङले पनि तयारी शुरु गरेको हो ।
आयोगको निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालयले आइतबार जिल्लास्थित सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनको तयारी शुरु गरेको जनाएको छ । कार्यक्रममा पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावली दर्ता गराउनेको नामावली त्रुटी तथा दोहोरो भएमा सच्याउने र दाबी विरोध भए त्यसको निरुपण गर्नेगरी तयारी शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जानकारी दिनुभयो ।
यसका लागि माघ ५ गतेसम्म सहायक नामदर्ता अधिकारी छनोट गर्ने, माघ ८ गते नियुक्ति गर्ने, माघ ११ गते नवनियुक्त सहायक नाम दर्ता अधिकृतलाई तालिम दिने, १५ गते सूचना प्रकाशन गर्ने, माघ १६ र १७ गते निवेदन सङ्कलन गर्ने, माघ १८ र १९ गते निवेदन उपर निर्णय गर्ने लगायतका कार्यक्रम रहेको निर्वाचन अधिकारी राईले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको बताउनुभयो ।
उता, कार्यक्रममा सहभागी राजनीतिक दल तथा सरोबारवाला निकायले भने, तोकिएको मितिमा निर्वाचन नहुने बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै एक समूह निर्वाचन गराउने र अर्को समूह विरोधमा रहेकाले सरकारले तोकेको मितिमा निर्वाचन सम्भव नरहेको सहभागीले बताएका हुन् ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ३३ हजार मतदाता रहेका छन् ।


