खोटाङ, ४ माघ । भारी वर्षाका कारण घर भत्किएपछि बिचल्नीमा परेका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उहाँका ७१ वर्षीया श्रीमती छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्माण गरिदिएका छन् । गत असार ३२ गते राति परेको भारी वर्षाका कारण घर भत्किएपछि बिचल्लीमा परेका खत्री दम्पत्तीको घर पुनः निर्माणका लागि आफन्त तथा शुभेच्छुकले चन्दा सङ्कलन गरेर दुईतले नयाँ घर निर्माण गरिदिएका हुन् ।
स्थानीय अभियान्ता थिरेन्द्र भट्टराई, बमबहादुर खत्री र सन्तोष केसीको पहलमा चन्दा सङ्कलन अभियान सञ्चालन गरेर प्राकृतिक प्रकोप पीडित खत्री दम्पत्तीलाई भूकम्प प्रतिरोधक नयाँ घर निर्माण गरिदिइएको जनाइएको छ । अभियानका क्रममा खत्री दम्पतीको घर पुनः नर्माणका लागि स्वदेश तथा विदेशबाट रु तीन लाख ६० हजार ८६२ रकम सङ्कलन भएको थियो ।
घर निर्माणका लागि सङ्कलन भएकामध्ये रु तीन लाख २१ हजार ७०८ मै खत्री दम्पत्तीको नयाँ घर ठडिएको अभियान्ता भट्टराईले बताउनुभएको छ । घर भत्किएपछि आवास बिहिन बनेर अरुको घरमा बस्दै आएका खत्री दम्पत्ती स्थानीय बासिन्दाले बनाइदिएका नयाँ घरमा हिन्दु परम्परा अनुसार भित्रिएका छन् ।
स्थानीय बासिन्दाले वर्षा याममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेको खत्री दम्पत्तीको घरको सट्टा भूकम्प पुनः निर्माण प्राधिकरणको शैलीमा नयाँ घर निर्माण गरिदिएका छन् । एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पत्ती मात्र बसिरहेका छन् ।
खत्री दम्पत्तीको दयनीय अवस्था देखेर आफन्तले घर पुनः निर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए । पहिरो पीडित दम्पत्तीको घर पुनः निर्माणका लागि साकेला गाउँपालिकाले पनि रु १५ हजार आर्थिक सहयोग गरेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो ।
अभियानमा हाल यूकेमा रहनुभएकी समाजसेवी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर बृद्धबृद्धाको घर बनाउन रु २० हजार, दाहाल बन्धुहरुले सञ्चालन गरेको अभियानबाट रु २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले रु १७ हजार १५५, दाहाल प्रतिष्ठान शाखा खोटाङले रु दश हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले रु आठ हजार सहयोग गरेको थियो । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर नयाँ घर निर्माण गरिदिएपछि खत्री दम्पत्ती हर्षित बनेका छन् ।
खत्री दम्पत्तीको घर निर्माण गरेपछि बाँकी रहेको रकम साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँकै ब्रेन हेमरेज पीडित जीतेन्द्रप्रसाद खत्रीलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । घर पुनः निर्माणकाक्रममा बाँकी रहेको रु ३९ हजार १५४ मा अन्य रकम थप गरेर ब्रेन हेमरेज पीडित खत्रीलाई उपचार सहयोग स्वरुप प्रदान गर्ने तयारी गरिएको अभियान्ता भट्टराईले बताउनुभयो ।
ब्रेन हेमरेज पीडित खत्री बिगत पाँच महिना अगाडिदेखि काठमाडौँस्थित मोडेल अस्पतालमा उपचार गराइरहेका छन् । कमजोर आर्थिक अवस्थाका पीडित खत्रीको उपचारमा आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तले बताएका छन् ।


