देशभरको मौसममा बदली, दिउँसोको तापक्रम घट्दा चिसो बढ्ने सम्भावना

Halesi Khabar

काठमाडौँ, २ माघ । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । मौषम बदलीसँगै वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भन्नुभयो ।

आगामी तीन दिन देशका धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो बढ्ने बताइएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस दुई डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

आज दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरैजसो भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । त्यस्तै देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । त्यस्तै प्रदेश नं १ एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती प्रदेश १ र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका अन्य भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया