खोटाङ्गेको पहिचान, घङ्गरुको लौरो उपहार !

Halesi Khabar

–भीम राई

खोटाङ, ४ पुस । कुनै समय खोटाङ आउने जो कोहि पाहुनाका लागि खोटाङको चिनो लौरो उपहार दिने गरिन्थ्यो । खोटाङको सदरमुकाम दिक्तेल बजारमा त्यसबेला युवा खेलाडी तथा समाजसेवी मिलन चाम्लिङले लौरो उत्पादन गर्ने काम गर्नुहुन्थ्यो ।

 

शुरुमा व्यवसायिक जस्तो नभएको उहाँको सीप बिस्तारै उद्योगका रुपमा फस्टाउन थालेको थियो । ‘यो मेरो टेक्ने, यो मेरो छेक्ने, परि आयो भने पुर्पुरो सेक्ने’ चाम्लिङ ह्याण्डी क्राफ्टको नारा नै बनेको थियो ।

 

खोटाङमा घुम्न आएका होस या कुनै कार्यालयहरुको काममा आउने सबैको हातमा एउटा अर्गानिक घङ्गरुको लौरो हातमा थमाइदिने चलन निकै लोकप्रिय बनेको थियो त्यसबेला । हुन पनि छिमेकी जिल्ला भोजपुरको खुकुरी र ओखलढुङ्गाको राडीपाखी त्यसबेलाको जिल्लाको चिनारी नै भने पनि हुन्छ ।

 

जो कोहि भोजपुर पुगे भोजपुरे खुकुरी उपहार ल्याउनै पर्ने । ओखलढुङ्गा पुगे रुम्जाटारको राडी बोक्नै पर्ने । जिल्लाको विशेषताहरु बोकेका घरेलु उत्पादनहरु थिए ती सामग्रीहरु । यी सामग्रीहरुको बजार व्यावस्थापन हुन नसक्दा अहिले बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।

 

अहिले भोजपुरे खुकुरीको पनि चर्चा हुन छाडेको छ । उसै रुम्जाटारको राडीपाखीको नाम ओझेलिएको छ । यस्तो बेला खोटाङको घङ्गरुको लौरो मिलन चाम्लिङ हिँडेपछि बिस्तारै हराउन थाल्यो ।

 

कथा घङ्गरुको लौरोकै हो । जब खोटाङमा मिलन चाम्लिङले लौरो उत्पादनलाई व्यवसायिकरण गर्न कोशिस गर्नुभयो । त्यसबेला दुईजना भाइहरुलाई उहाँले सिकानु पनि भएको थियो । उहाँले बनाउनुभएको लौरोले देश–विदेशका नागरिकहरुलाई साहारा मात्र दिएन खोटाङका बेरोजगार दुई युवाले सामान्य रोजगारी पनि पाएका थिए ।

 

जब परिस्थितिले मिलन चाम्लिङलाई काठमाडौँ झिकायो खोटाङमा केहि न केहि अभाव रह्यो । चाम्लिङसँगै लौरो उत्पादन गर्न सीप सिकेका भगिन्द्र विश्वकर्मा र नारायण विश्वकर्माले यो पेशालाई निरन्तरता दिन सकेनन् ।

 

भगिन्द्र लौरो बनाउन सजिलो काम भएपनि यो पेशाबाट जीविकोपार्जन नहुने भएपछि विदेश जानुभयो । यस्तै नारायण विश्वकर्मा पनि यो पेशामा रमाउन सक्नु भएन । यसपछि चाम्लिङले व्यावहारिक तालिम दिनुभएका युवा भीमबहादुर विश्वकर्मा र रविन्द्र विश्वकर्मा रहनुभएको थियो । रविन्द्रले खास यसलाई पेशाकृत गर्नुभएन ।

 

तर, खाल्लेका भीमबहादुर विश्वकर्माले भने यसलाई व्यावसायिक हिसाबले अगाडि बढाउन मेहिनत गर्नुभयो । केहि समय दिक्तेलमा पसल नै खोलेर पनि बस्नुभयो । सामान्यत बाँसबाट निर्माण गरिएका हस्तकलाको समान र घङ्गरु लगायत काठको लौरोमा जनवारको सिङबाट बनाइएका समाउने भागहरु निकै राम्रा र लोभ लाग्दा हुने नै भए । तर, यहि व्यवसायले भने उहाँलाई पनि टिकाएन । उहाँ पनि यो पेशा नै छाडेर अहिले फर्निचरतिर काम गर्दै आउनुभएको छ ।

 

दिक्तेल छाडेर काठमाडौँ छिर्नुभएका चाम्लिङले समेत यसको निरन्तरता दिन सक्नुभएन । उहाँले काठमाडौँमा चाम्लिङ ड्राईभिङ सेन्टर खोलेर चलाई रहनुभएको छ । यी माथिका प्रशङ्ग अब कथाको रुपमा मात्र रहेका छन् । यसलाई कथा बनाउन मात्र सकिने अवस्थाको सिर्जना हुनु दुःखद विषय हो ।

 

यसलाई व्यवसायिक प्रवद्र्धन गर्न सकेको भए । व्यक्तिगत हिसाबमा लागेका उद्यमीहरुलाई प्रोत्साहन गरेर यसलाई बजार व्यवस्थापनमा जोड दिन सकेको भए । अहिले विदेशमा बनेका स्टिलका लौरोहरुको सट्टामा नेपाली लौरोको बजारमा खोटाङको नाम राख्न सकिन्थ्यो कि ? भन्ने लाग्दछ ।

 

यी सामान्य कामहरु गर्नबाट हामी चुक्दा हाम्रो खोटाङको लौरोको पहिचान गुमेको छ । तर, पछिल्लो समयमा खोटाङमै एक जना अभियान्ता लौरो अभियान्ता बनेर अगाडि आउनुभएको छ । निकै लामो समय सरकारी सेवामा रहेर पेन्सनमा निस्कनुभएका लौरो अभियान्ता हुनुहुन्छ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ (साविक दिक्तेल–५ बसेखा)का चन्द्रप्रसाद आचार्य । उमेर हदका कारण केहि समय अगाडि सरकारी सेवाबाट अवकाश लिनुभएका उहाँले घरमा बस्दै गर्दा वृद्धवृद्धाको साहारा हुने मन गर्नुभयो ।

 

जागिरको सिलसिलामा गाउँ–गाउँ, बस्ती–बस्ती चहार्नुभएका उहाँले वृद्धवृद्धालाई जीवनको उतारार्धमा साथ दिने एकमात्र सहारा लौरो मात्र रहेछ भन्ने अड्कल काट्नुभयो । त्यसैले उहाँले घङ्गरुको लाठाहरु बटुलेर खिप्न थाल्नुभयो ।

 

खिपेर बनाएका लौरोलाई उहाँले शुरुमा आफ्नै गाउँ दिक्तेल आचार्य गाउँ वरिपरिका वृद्धवृद्धालाई निःशुल्क बाँड्नुभयो । जागिरकै सिलसिलामा धेरैवटा गाउँमा पुग्नुभएका उहाँले अरु गाउँबस्तीका वृद्धावृद्धा नचिन्ने कुरै भएन । उहाँले यो कामलाई निरन्तरता दिन थाल्नुभयो ।

 

उहाँले धार्मिकग्रन्थमा १०८ र एक हजार आठ दान गर्नुको विशेष अर्थ र महत्व रहेको बुझ्नुभएको छ । यहि धार्मिक मान्यताको आधारमा उहाँले शुरुमा १०८ लठ्ठी दान गर्ने भनेर शुरु गरेको अभियान अब एक हजार आठको लक्ष्यमा पुगेको छ ।

 

गाउँका वृद्धृवद्धालाई आफै गएर लठ्ठी दिने गर्नुभएका आचार्यले टाढाका वृद्धवृद्धालाई आफन्तमार्फत लठ्ठी पठाइदिने गर्नुभएको छ । वि.सं. २०३७ साल कात्तिक १५ गते बहुमुखी विकास कार्यकर्ता तथा गाउँ पञ्चायत सचिव (खरिददार) का रुपमा सरकारी सेवामा प्रवेश गरेका आचार्यले वि.सं. २०७४ जेठ १९ गते सरकारी जागिरबाट अवकाश लिएपछि निरन्तर लाठी उत्पादनमा लागी पर्नुभएको छ ।

 

पहिल्यै अलिअलि लठ्ठी खिप्ने सीप रहेको बताउने आचार्यले सीपलाई सदुपयोग गरेर अशक्तलाई प्रदान गर्दा मानवीय सेवा र धर्म पनि हुने भएकाले यो काम गरेको सुनाउनुभयो । उहाँले खबर आए र पु¥याइदिने माध्यम भए १०० वर्ष नाघेका नेपालका पूर्वपश्चिम जुनसुकै ठाउँका वृद्धवृद्धालाई पनि लाठ्ठी उपहार पठाइदिने बताउनुभयो ।

 

एउटा लौरो बनाउन उहाँको औषतमा रु एक हजारदेखि एक हजार ५०० सम्म पर्ने गर्दछ । योसँगै आचार्यले बाँसको चोयाबाट बुनिने टोपी, ह्याट र कोट पनि बुन्ने गर्नुहुन्छ । हस्तकलाको हिसाबले अनौठो लाग्ने सीपहरु रहेका आचार्यले पछिल्लो समयमा लठ्ठी अभियानमार्फत खोटाङको गुमिसकेको पहिचानलाई पुनःस्थापित गर्न लागेका छन् ।

 

मायाको चिनोको रुपमा लठ्ठी दिने खोटाङको पृथक पहिचानलाई जोगाउन यो कार्य निकै महत्वपूर्ण रहेको छ । यसलाई प्रोत्साहित गर्न स्थानीय सरकार तथा सङ्घ संस्थाको तर्फबाट सम्मान गर्नु पर्दछ । साथै यसअघि जो व्यवसायिक बन्न कोशिसमा रहेका थिए उनीहरुलाई पुनःस्थापित गर्न जरुरी छ ।

 

तपाईको प्रतिक्रिया