फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान, दिक्तेल–गाईघाट नियमित यातायात शुरु

Halesi Khabar

खोटाङ, २९ मङ्सिर । दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटारको सिमानामा पर्ने फोक्सिनटारस्थित सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज आइतबार साँझदेखि सञ्चालनमा ल्याइएको हो ।

छ महिनापछि बेलिब्रिज पुनः जडान गरिएसँगै अब दिक्तेल–गाईघाट सडकखण्डमा सिधा यातायात सेवा शुरु भएको छ । फोक्सिङटारस्थित सुनकोशी नदीमा पानीको बहाव बढेसँगै गत जेठमा अस्थायी बेलिब्रिज खोलिएपछि यातायात सेवा बन्द भएको थियो ।

रेग्मी निर्माण सेवा कम्पनीले यही मंसिरको पहिलो हप्तादेखि रु ८५ लाख बजेटमा बेलिब्रिज जडान गर्ने ठेक्का लिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताउनुभयो । उक्त बेलिब्रिजको लम्बाइ ५० मिटर रहेको छ भने चौडाइ छ मिटरको छ ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रुपमा राज्यकोषको रकम खर्च हुँदै आएको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटा लगायतका निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु सोही मार्ग भएर जिल्लाका लागि ढुवानी गर्ने गरिएको छ ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने फोक्सिङ्टारमा पक्की पुल निर्माणको काम थालिएपनि अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि ठेकेदार कम्पनीको लापरवाहीले फोक्सिङटारमा निर्माणाधी पक्की पुलको पिल्लर मात्र तयार भएको छ ।

तपाईको प्रतिक्रिया