काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेको छ । महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर बैठक बालुवाटार बोलाउनुभएको हो ।
कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा सहभागी नबन्ने बताएका ओली बैठकमा सहभागी हुने भएपछि बैठक बालुवाटार सारिएको स्रोतले जनाएको छ ।
दिउँसो १ बजे बालुवाटारमा बस्ने आजको बैठक औपचारिक मात्रै हुनेछ । आजको बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गर्ने र शोक प्रस्ताव पारित गरेसँगै बैठक स्थगित हुने एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।
पूर्वसांसदसमेत रहेका लामाको मंसिर २४ गते कोरोना संक्रमणबाट ज्यान गएको थियो ।


