खोटाङ, २३ मङ्सिर । केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग)लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा)को पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारले परिकल्पना गरेको मुन्धुम ट्रेललाई उपयोग गर्ने गाउँपालिकाले योजना बनाएको हो ।
गाउँपालिकाले जि–फाउण्डेसनसँगको सहकार्यमा चखेवाबाट मैयूडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पा पोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होम स्टे (घरबास) लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ । विशेषगरी मुन्धुम ट्रेललाई पछ्याउँदै खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको बीचमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी जोड्नेगरी पूर्वाधार विकासको काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।
नेपाल सरकारले १०० वटा पर्यटकीय गन्तव्यको रुपमा राखेको मुन्धुम ट्रेलको करीब ४८ किलोमिटर खण्ड केपिलासगढी गाउँपालिकाभित्र पर्दछ । मुन्धुम ट्रेल प्रयोग गरेर गाउँपालिकाबाट सहजरुपमा साल्पा पोखरी पुग्ने र फर्कने वातावरण बनाउन आवश्यक पूर्वाधार विकास गर्न चालु आर्थिक वर्ष गाउँपालिकाले रु आठ लाख र जि–फाउण्डेसनले रु आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ ।
खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीय स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७५ सालमा तयार पारिएको मुन्धुम ट्रेलले चारवटै जिल्लाका चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडा लगायतका पर्यटकीयस्थललाई जोडेको छ । मुन्धुम ट्रेल हुँदै भित्रिएका स्वदेश तथा विदेशका पर्यटकलाई गाउँपालिका भित्र्याउने तथा गाउँपालिकालाई साल्पा पोखरीसँग जोड्ने लक्ष्यका साथ आवश्यक संरचना निर्माणको काम अघि बढाइएको हो ।
यसका लागि गाउँपालिका र जि–फाउण्डेसनको बजेटमा सुङ्देलमा गाउँबाट मुन्धुम ट्रेल जोड्ने दोर्खुदोभान–घुर्विसे पदमार्ग निर्माण र नचीदेखि जम्बुढुङ्गासम्मको करीब एक किलोमिटर पदमार्ग मर्मतको तयारी गरिएको छ । यस्तै, प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट मुन्धुम ट्रेलको आसपासमा पर्ने सुङ्देलको निकासदेखि जम्बुडाँडासम्मको पदमार्ग मर्मत, रावाधाप, धाप्लेदुन, रिमादुन, निकास, जम्बुढुङ्गादेखि सहदेउखर्क खानेपानी योजना सञ्चालन, जलजले–देउराली पदमार्ग मर्मत, रेवामुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण र रेवामुहान ईलाका जरबुटा संरक्षणका काम गरिने जनाइएको छ ।
यस्तै, फेदीको लौरेदेखि जुगेडाँडा बाटो मर्मत, बगरेभञ्ज्याङ होम स्टे निर्माण, बगरेभञ्ज्याङ खानेपानी तथा फलैंचा निर्माण, सातदोबाटो–छमुवाखोला मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माणको काम गरिने गाउँपालिका प्रमुख राईले बताउनुभयो । मुन्धुम ट्रेलमार्फत पर्यटन विकास गर्ने सम्भाव्यता अध्ययन गर्न यहि मङ्सिर १३ गते हिँडेको गाउँपालिका प्रमुख राईको टोली मङ्सिर १९ गते फर्केको थियो ।
मुन्धुम ट्रेलका माध्यमबाट पर्यटन विकासका लागि केपिलासगढी गाउँपालिकाले बहुवर्षीय योजनासमेत बनाएको छ । डाँडाकेभीरदेखि सुङ्देलसम्म स्काई डाइभिङ तथा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने, निकासदेखि सुङ्देलसम्मका पदमार्गमा रेलिङ हाल्ने, सुङ्देलमा साँस्कृतिक झल्किने होमस्टे निर्माण गर्ने, लौरेडाँडादेखि सुङ्देलसम्म प्याराग्लाइडिङ र स्काई डाईभ तथा लौरेडाँडा–चिलिमढुङ्गादेखि फेदीसम्म केबुलकारको सम्भाव्यता अध्ययन गर्ने बहुवर्षीय योजनाको परिकल्पना गरिएको छ ।
यस्तै, छमुवाखोला मुहानमा करीब तीन वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सिमसार क्षेत्र संरक्षण गर्ने, लौरेडाँडा–चिलिमढुङ्गा–ढालतरबार पदमार्ग निर्माण गर्ने, केपिलासगढीडाँडा पदमार्ग निर्माण गर्ने लगायतका बहुवर्षीय योजना सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताउनुभयो । यसका लागि बजेट तयार गर्ने र क्रमशः योजना अघि बढाइने उहाँको भनाइ छ ।


