खोटाङ, ११ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित राम्चेका ५२ घर स्थानीय बासिन्दाको घरमा जडान गरिएको खानेपानीको धारा सञ्चालनमा ल्याइएको छ । क्रिश्चियन एडको रु २५ लाख र नगरपालिकाको रु आठ लाख लगानीमा राम्चेका प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हो ।
करीब डेढ किलोमिटर टाढा पर्ने पात्लेखोला मुहानबाट ल्याइएको खानेपानी आयोजनामा उपभोक्ताको १५ प्रतिशत श्रमदान रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । “मुहानबाट एक हजार ६०० मिटर वर ४६ हजार लिटरको रिर्जभ ट्याङ्की निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “रिजर्भ ट्याङ्कीबाट राम्चेका ५२ घर स्थानीय उपभोक्ताको प्रत्येक घरमा एक÷एकवटा खानेपानीको धारा जडान गरेर सञ्चालनमा ल्याइएको छ ।”
बालसेवा समाज नेपाल नेर्पाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको खानेपानी आयोजनामार्फत घरघरमा धारा जडान भएपछि उपभोक्ता हर्षित भएका छन् । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका राम्चेका स्थानीय उपभोक्ता नगरपालिका र क्रिश्चियन एडको आर्थिक सहयोगमा सञ्चालित खानेपानी आयोजनामार्फत आ–आफ्नो घरमा खानेपानीको धारा वितरण भएपछि हर्षित भएका हुन् ।
निर्माण उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको खानेपानी आयोजना बिहीबार प्रतिनिधिसभा सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गर्नुभयो । करीब छ महिनामा निर्माण सम्पन्न गरिएको खानेपानी आयोजना उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद भट्टराईले प्रत्येक नागरिकको घरमा धारा जडान गर्ने सरकारको नीति नै रहेकाले बाँकी रहेका व्यक्तिको घरमा पनि क्रमशः जडान गरिने बताउनुभयो ।
खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बुइपास्थित राम्चेमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय कलाकारले साँगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।
क्रिश्चियन एडले राम्चेका ४६ घर उपभोक्तालाई पानी जम्मा गर्ने हिलट्याङ्कीसमेत वितरण गरेको छ । राम्चेका स्थानीय बासिन्दालाई तरकारीबालीमा अग्रसर गराउने उद्देश्यले प्रतिघर परिवारलाई ५०० मिटरको हिलटेक वितरण गरेको हो ।
यसैबीच, क्रिश्चियन एड नेपालकै लगानीमा बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र पनि उद्घाटन गरिएको छ । बालसेवा समाज नेपालको सहजीकरण तथा क्रिश्चियन एडको रु दश लाख आर्थिक लगानीमा निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र उद्घाटनको गरिएको हो ।
कृषि उपज सङ्कलन केन्द्र उद्घाटन कार्यक्रममा कृषकलाई इलेक्ट्रिक ह्याम्बर, हजारी, विषदी स्प्रयर, राडीपाखी व्यवासयको लागि कोरासो र क्यारेटसमेत वितरण गरिएको परियोजनाका प्रबन्धक युवराज रिजालले बताउनुभयो । सङ्कलन केन्द्र सञ्चालन भएपछि बिचौलिया अन्य हुने तथा कृषकले उत्पादन गरेका कृषि उपज बाह्य बजारमा बिक्रीका लागि पठाउन सहज भएको छ ।
कार्यक्रममा उक्त वडाका सबैभन्दा बिपन्न परिवारमा पर्ने तुलासिं राईलाई रु पचास हजार बराबरको जस्तापातासमेत प्रदान गरिएको जनाइएको छ । बाख्रा पालन व्यवासाय सञ्चालन गर्न खोर निर्माणगर्ने गरी तुलासिंलाई जस्तापाता प्रदान गरिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभयो ।


