सुनकोशीको फोक्सिङटारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु

Halesi Khabar

खोटाङ, १० मङ्सिर । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको छ । दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सिमाना फोक्सिनटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको हो ।

फोक्सिङटारमा यहि मङ्सिर तेस्रो साताभित्र यातायात पुनः सञ्चालन गर्नेगरी अस्थायी बेलिब्रिज जडानको काम भइरहेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो । इन्जिनियर खकुरेलका अनुसार बेलिब्रिज पुनः जडानका लागि दशँैतिहार अघि नै ठेक्का प्रक्रिया टुङ्ग्याइएकाले तिहारलगत्तै ठेकेदार कम्पनीले जडानको काम थालेको हो ।

बेलिब्रिज जडान र खोल्नका लागि चालु आर्थिक वर्ष कार्यालयले रु ८४ लाख लागत मूल्यमा रेग्मी निर्माण सेवा गाईघाटलाई ठेक्का दिएको छ । बेलिब्रिज खोलेसँगै खोटाङ र उदयपुरको गाडीहरु कोशी वारीको वारी नै र पारीको पारी नै रोकिएका छन् ।

दिक्तेलबाट फोक्सिङ्टार पुगेका यात्रुलाई रसुवाघाटस्थित झोलुङ्गे पुल तर्नुपर्ने या डुङ्गाको सहारा लिएर वारपार गर्नुपर्ने बाध्यता छ । हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा बिगत छ वर्षअघिदेखि हरेक वर्ष करीब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदै आएको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटा लगायतका निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु सोही मार्ग भएर जिल्लाका लागि ढुवानी गर्ने गरिएको छ ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने फोक्सिङ्टारमा पक्की पुल निर्माणको काम थालिएपनि अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि ठेकेदार कम्पनीको लापरवाहीले फोक्सिङटारमा निर्माणाधी पक्की पुलको पिल्लर मात्र तयार भएको छ ।

तपाईको प्रतिक्रिया