खोटाङ, १० मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा लाग्ने सोमबार हटियाका लागि निर्माण गरिएका फलामे ट्रससहितको पर्खाल प्रयोगमा नआउँदै भत्किएको थियो । नगरपालिकाको रु ४६ लाख ४४ हजार ६८६ लागतमा अर्खौले कृषि मार्केट योजना अन्तरगत फलामे ट्रससहिको रिटेनिङ पर्खाल निर्माणको काम सम्पन्न भएको हप्तादिन नबित्दै भत्किएको हो ।
निर्माण कम्पनी अनिल मल्टी कम्पनी प्रा.लि. मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोकले बलियो जग नबनाइ पर्खाल उठाएकाले योजना सम्पन्न भएको हप्ता दिन नबित्दै भत्किएको स्थानीय बासिन्दाको आरोप छ । प्रत्येक हप्ताको एक दिन सोमबार हटिया लाग्ने अर्खौलेमा बनाइएका १८ वटा ट्रसमध्ये गत असार–२ गते परेको वर्षाका कारण पुछार गा¥हामा बनाइएको ट्रसको रिटेनिङ पर्खाल पूर्णरुपमा भत्किएको हो ।
लगातारको वर्षाका कारण अर्खौलेमा निर्माण गरिएका अन्य ट्रसका दुई वटा रिटेनिङ पर्खालसमेत चर्किएर काम नलाग्ने भएको छ । यस्तै, हाटबजारको सिरानमा बनाइएको ट्रसको कुनामा समेत वर्षाका कारण पहिरो झरेपछि भित्ताका पर्खाल र ट्रसका निर्माण गरिएका केहि पिलरसमेत पुरेको छ ।
वि.सं. २००७ सालदेखि चित्राको छाप्रोमा हरेक हप्ताको सोमबार हाट लाग्ने अर्खौले बजारलाई व्यवस्थित गर्न कृषि मार्केट योजना सञ्चालन गरिएको थियो । नगरपालिकाले आव्हान गरेको ठेक्का अनुसार निर्माण कम्पनीले हाटबजार लाग्दै आएको स्थानका चारवटा कान्लामा ट्रससहितको पर्खाल निर्माण गरेको थियो ।
गत असार २१ गते सम्पन्न गर्ने शर्तमा वि.सं. २०७७ साल वैशाख ३१ गते सम्झौता गरेको निर्माण कम्पनीले केहि दिन ढिलागरी योजनाको काम पुरा गरेको थियो । नगरपालिकाकै ऐतिहासिक र कृषि उपज विनिमय गर्ने प्रमुख केन्द्रका रुपमा रहेको सो हाटबजारको स्तरोन्नतिका लागि नगरपालिकाले प्राथमिकताका साथ बजेट व्यवस्था गरेर आवश्यक संरचना निर्माण गरेको हो ।
ठेकेदार कम्पनीले बिलोमा ठेक्का हालेर कमसल निर्माण सामग्री प्रयोग गरेर संरचना निर्माण गरेकाले प्रयोगमा नआउँदै भत्किएको स्थानीय व्यापारी किशोर श्रेष्ठले दाबी गर्नुभयो । “कमजोर संरचना बन्दैछ भनेर हामीले पटक–पटक आवाज उठायौं तर हाम्रो कुरा सुनिएन”, उहाँले भन्नुभयो, “बिलोमा ठेक्का हालेर रु पाँच लाख बाँडेर काम गर्दा पर्खाल भत्किएको हो । ट्रस निर्माण गरेर बजार लगाउने ठाउँको भित्ता खस्दा उक्त ठाउँभन्दा माथिल्लो भागमा रहेको मगरबस्ती नै जोखिममा परेको छ ।”
निर्माण गरेको केहि हप्तापछि नै ट्रसको रिटेनिङ पर्खाल भत्किएपछि नगरपालिकाका इन्जिनियरले साउन ४ गते स्थलगत निरीक्षण गरेर प्राविधिक प्रतिवेदन तयार पारेको थियो । तर, निर्माण कम्पनीले भत्किएको पर्खालको पुनः निर्माणमा चासो नदिँदा उक्त हाटबजार क्षेत्र अहिले खण्डहर जस्तै देखिएको छ ।
कमजोर संरचनाका कारण नभइ भारी वर्षाका कारण जमिन गलेर पहिरो जाँदा ट्रसको पर्खाल भत्किएकाले तत्काल पुनः निर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “काम सम्पन्न गरेपनि प्रयोगमा नआउँदै उक्त पर्खाल भत्किएपछि धरौटीबापतको रकम भुक्तानी दिएका छैनौँ”, उहाँले भन्नुभयो, “तत्काल पुनः निर्माण गरेर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई भनिसकेका छौँ ।”
अर्खौलेमा निर्माण गरिएका संरचना प्राविधिक त्रुटीका कारण भत्किएको र पुनः निर्माणका लागि नगरपालिकाले अहिलेसम्म कुनै पहल नगरेको ठेकेदार कम्पनीका अध्यक्ष अनिल स्याङ्बोले बताउनुभयो । भत्किएको पर्खाल पुनः निर्माणका लागि नगरपालिकाको लिखित पत्र आएपछि काम थालिने अध्यक्ष स्याङ्बोको भनाइ छ ।


