खोटाङ, ९ मङ्सिर । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तरगत खर (फुस) वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।
यस वर्ष फुसको छाना भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । “आगामी वर्ष जिल्लाका अन्य खरको छाना भएका नागरिकको घरलाई समेत सम्बोधन गर्दै लगिनेछ”, उहाँले भन्नुभयो, “यस वर्ष जस्तापाता वितरण गर्ने जिम्मा जिल्लाका दशवटै स्थानीय तहलाई दिइएको छ ।”
शहरी विकास मन्त्रालय अन्तरगत वितरण गरिने जस्तापाता यस वर्ष सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८ घर स्थानीय बासिन्दाले पाउने भएका छन् । यस्तै यसै वर्ष त्रिधार्मिकस्थल हलेसीसमेत रहेको हलेसी तुवाचुङ नगरपालिकामा ३४३ घरपरिवारको फुसको छानो हटाइने भएको छ ।
जिल्लाका दशवटै स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा भएको जस्तापाताको छाना वितरण गर्दा ऐसेलुखर्क गाउँपालिकामा २३१, रावाबेँसी गाउँपालिकामा २०६, जन्तेढुङ्गा गाउँपालिकामा २२०, खोटेहाङ गाउँपालिकामा २८०, केपिलासगढी गाउँपालिकामा २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २०३, साकेला गाउँपालिकामा १५० र बराहपोखरीमा गाउँपालिकामा १९६ घरधुरीले जस्ता छाना पाउने छन् ।
जस्तापाताको छाना वितरण गर्दा पुरानो मौलिक घरहरु (खरको छाना भएको पुराको संरचनाका घुमाउने घर)का घरधनीले संरक्षण गर्न चाहेमा स्थानीय सरकारले वैकल्पिक व्यवस्था गर्नेगरि संरक्षणमा सहयोग गर्ने निर्णय गरिएको छ । यस्तै भूकम्पमा परेको घर जसलाई राज्यले अनुदान दिइसकेको छ भने, त्यस्तो घरलाई उक्त सुविधा नदिने निर्णय गरिएको सांसद भट्टराईले जानकारी दिनुभयो ।
यस्तै घर छाडेर अन्यत्र बसोबास गर्दै आएका तर, यताको पुख्र्यौली घरसमेत नछाडेकाहरुलाई समेत यो सुविधा नदिइने सांसद भट्टराईले बैठकमा जानकारी दिनुभयो । सांसद भट्टराईले बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरुलाई जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको अनियमिततालाई रोक्न सबै निर्देशन दिनुभयो ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजना गरिएको बैठकलाई सम्बोधन गर्नुहुँदै सांसद भट्टराईले आगामी मङ्सिर १५ गते देश व्यापीरुपमा एकैसाथ प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेकाले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष छ स्थानीय तहमा उक्त कार्यक्रम रहेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको १५ शैयाको अस्पतालसमेत स्तरोन्नति गरेर ५० शैयाको बनाउने तयारी भइरहेको सांसद भट्टराईले जानकारी दिनुभयो । यसका लागि शहरी विकास मन्त्रालयले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाएर टेन्डर (आशयपत्र) खोल्ने तयारी गरिरहेको जनाइएको छ ।
२०४८ सालमा स्थापना भएको उक्त अस्पतालमा शैंया अभाव भएपछि कतिपय बिरामीहरु नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचार गराउन बाध्य छन् । स्थापना भएको २९ वर्ष बितिसक्दा समेत अस्पतालको स्तरोन्नति नहुनुमा सम्बन्धित निकायले चासो नदिएको जिल्लावासीको आरोप छ ।


