खोटाङ, ८ मङ्सिर । साकेला गाउँपालिका–४ का वडाध्यक्षलाई विकासको बाधक भएको आरोप लागेको छ । वडा नम्बर–४ र ५ का लागि निर्माणाधीन गाउँखर्क कुलो निर्माण आयोजना सम्झौता गर्न उपभोक्ता समितिलाई सिफारिस नदिएको भन्दै समितिका अध्यक्षले वडाध्यक्ष कृष्णप्रसाद भट्टराईमाथि यस्तो आरोप लगाएका हुन् ।
दुई वडाका करीब नौँ हेक्टर जमिन सिचाइँ गर्ने गाउँफर्क कुलो निर्माण गर्ने योजना आर्थिक वर्ष ०७६÷०७७ मै परेको थियो । करीब ३६० घरधुरी उपभोक्ताले उपभोग गर्ने उक्त कुलो करीब नौँ किलो मिटर लामो रहेको छ ।
आयोजना सञ्चालन गर्न वडा नं ५ ले सिफारिस दिएको तर, वडा नं ४ ले भनेको नदिएको उपभोक्ता समितिका अध्यक्ष शिव कटुवालले जानकारी दिनुभयो । उहाँले आफूले पटकपटक वडाध्यक्ष भट्टराईसँग सिफारिस माग गर्दा विधि र प्रकृया नपुगेको भन्दै रोक्ने गरेको बताउनुभयो ।
“दुई पटक त उहाँको घरैमा गएँ तर, रित्तै फर्काइदिए”, उपभोक्ता समितिका अध्यक्ष कटवालले भन्नुभयो, “हुन्छ भन्नुहुन्छ तर, दिनुहुन्न । कुरा बुझ्दा उहाँले पार्टीको मान्छे उपभोक्ता समिति राखेन भनेर दिन नमानेको रहेछ !”
४ नम्बर वडा सदस्य वीर्खबहादुर कटुवालको उपस्थितिमा १०६ जना उपभोक्ताको आम भेलाबाट गठन भएको उपभोक्ता समितिलाई अविस्वास गरेर शिफारिस दिन नमानेको शिव कटुवालको भनाइ छ । “वडा अध्यक्ष नै विकासको बाधक त हुनु नमिल्ने हो तर, उहाँले कुरा बुझ्नु भएन”, कटवालले भन्नुभयो, “अब गाउँपालिका अध्यक्ष ज्यूसँग कुरा भएकोछ उहाँले मिलाउछु भन्नुभएको छ ।”
उता वडाध्यक्ष भट्टराईले भने आफ्नो बचाउँ गर्नुभएको छ । उहाँले आफ्नो कार्यालयमा सिफारिस माग्न कोही नआएको बताउनुभयो । “बाटाबाटामा सिफारिस मागेर कसरी दिन सकिन्छ ?”, उहाँले भन्नुभयो, “उपभोक्ता समिति नै विधि सम्मत गठन भएको छैन । हाम्रो वडाको प्रतिनिधिले प्रमाणित नै गरेका छैनन् अनि कसरी दिनु सिफारिस ?” ।
उपभोक्ता समिति गठन गर्न जम्मा गरिएको भेलामा पठाइएको जनप्रतिनिधि वीर्ख कटुवाल भने उपभोक्ता भेला गएर उहाँकै उपस्थितिमा समिति गठन भएको बताउनुहुन्छ ।
यस्तै सोही वडाको माने भञ्ज्याङ बजार व्यवस्थापन समितिले काम सम्पन्न गरेर फच्र्यौट समेत भइसकेको पार्क निर्माण तथा नाली व्यवस्थापनको काममा समेत धरौटी रकम फिर्ता लिन वडाले सिफारिस दिन नमानेको समितिका अध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो । सबै काम पारदर्शी रहेको पालिकाको आगनमै रहेको बजारमा गरेको काम सम्पन्न भएपछि शहरी विकास तथा भवन निर्माण समितिलाई दिनुपर्ने सिफारिसमा वडाध्यक्ष भट्टराईले अड्को थापेको उहाँले बताउनुभयो ।
“उहाँ काँग्रेसको तर्फबाट वडाध्यक्ष हुनुभएको मान्छे, हामी फरक पार्टीको भएपछि सिफारिस माग्न जाँदा हप्काएर पो पठाउनुभयो !”, तामाङले भन्नुभयो, “अफिस बाहिर भएको भए हानहान नै होला जस्तो थियो उहाँको प्रस्तुति तर, हामीले सह्यौँ ।”
डिभिजन कार्यालयले शुरुमा गाउँपालिकाको सिफारिसका आधारमा योजना सम्झौता तथा फछ्र्यौट समेत गरेको तर, योजना सञ्चालनका लागि रहेको धरौटी रकम फिर्ता दिन भने वडा कार्यालयको सिफारिस खोजेको पनि तामाङले बताउनुभयो । वडाध्यक्ष भट्टराईले फरक पार्टीका नागरिकलाई विकासे काममा मात्र नभइ बसाइँसराई लगायतका सिफारिसमा समेत विभेद गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।
साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले भने, यी दुईवटै विषयलाई लिएर आपसी सहमति गराई कामलाई अगाडि बढाउने बताउनुभएको छ । “केही साना तिना असमझदारी आएको सुनेको छु”, उहाँले भन्नुभयो, “त्यसलाई हामी बसेर सुल्झाउँने तयारीमा लागेका छौँ ।”
वडाध्यक्ष भट्टराई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट निर्वाचित हुनुहुन्छ । जिल्लाको सबैभन्दा थोरै (पाँचवटा मात्रै वडा) रहेको उक्त गाउँपालिका प्रमुख भङ्कार नेकपा र उपप्रमुख सरिता खड्का काँग्रेसबाट निर्वाचित हुनुहुन्छ ।


