खोटाङ, १८ असोज । जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठन गरिएको छ । तत्कालीन युवा सङ्घ नेपाल र वाइसिएल नेपाललाई मिलाएर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठन गरिएको हो ।
राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठनका क्रममा तत्कालीन युवा सङ्घ र वाइसिएलले तीन÷तीन वडामा संयोजक बाँडेको छ । वडा नम्बर–१ देविस्थानमा रमेश थापाको संयोजकत्वमा ७७ सदस्यीय, वडा नम्बर–२ बोपुङमा सन्दिप राईको संयोजकत्वमा ३७ सदस्यीय र वडा नम्बर–३ काहुलेमा निश्चल राईको अध्यक्षतामा २८ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।
यस्तै, वडा नम्बर–४ डम्वर्खुशिवालयमा सन्देश राईको संयोजकत्वमा ८३ सदस्यीय, वडा नम्बर–५ चिसापानीमा होमबहादुर राईको संयोजकत्वमा १५४ सदस्यीय र वडा नम्बर–६ दिप्लुङमा विजय राईको संयोजकत्वमा ११६ सदस्यीय वडा कमिटि गठन गरिएको छ । वडा नम्बर–१, २ र ३ मा तत्कालीन वाइसिएलले र वडा नम्बर–४, ५ र ६ मा तत्कालीन युवा सङ्घले नेतृत्व पाएको राष्ट्रिय युवा सङ्घका जिल्ला कमिटि सदस्य जगत किरातीले बताउनुभयो ।
केही समयपछि वडाको सचिवालय तया गर्ने, आवश्यक प्रशिक्षणको व्यवस्था गर्दै पालिकास्तरीय कमिटि बनाउने तयारी गरिएको जनाइएको छ । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएपछि जिल्लामा सङ्गठन विस्तारको काम धमाधम भइरहेको छ ।


