खोटाङ १६ चैत । बाँदरको समस्य हल गर्न माग गर्दै जिल्लाका किसानले कृषि औजारसहित दिक्तेल बजारमा बिरोध र्याली प्रदर्शन गरेका छन् । बाँदरपीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न नेपाल सरकारसमक्ष माग गर्दै हलो, जुवा, दाँते र कोदालोसहित आज (सोमबार) दिक्तेल बजारमा बिरोध र्याली प्रदर्शन गरेका हुन् ।
कृषि औजारसहित बिरोधमा उत्रिएका जिल्लाका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट सुरु भएको बिरोध र्याली त्रिवेणीचोक–भानुचोक हुँदै जिल्ला प्रशासन कार्यालय खोटाङ अगाडि पुगेर टुङ्गिएको थियो ।
बिरोध र्याली प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परिवार नियोजनको व्यवस्था गर्न किसानले माग गरेका छन् । प्रशासन पुगेका किसानले बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी कँडेलले बाँदर आतङ्कको विषयमा आफूहरु गम्भीर रहेको जानकारी दिनुहुँदै सम्बन्धित निकायमा ज्ञापनपत्र पर्याएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
गत माघ–२४ गते दिक्तेलमा भएको बाँदरपीडित किसानको भेलाले गरेको निर्णयअनुसार बिरोध र्याली प्रदर्शनसहित प्रशासन पुगेर बाँदर व्यवस्था गर्न लिखित ज्ञापनपत्र बुझाइएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभएको छ । बाँदरपीडित किसानले यसअघि बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर दीर्घकालीन रुपमा बाँदर नियन्त्रण गर्ने व्यवस्था मिलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा विभिन्न निकायलाई गुहारेका थिए ।
खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपनि सरकारले बाँदर नियन्त्रणको भरपर्दो विधि फेला नपरेकाले खोरमा थुन्ने व्यवस्था गर्न माग गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । “बाँदरको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले अन्नपात जोगाउन सकिएनँ । बाँदर मार्न पाइदैन भने खोरमा थुनेर राख्ने व्यवस्था गरियोस्”, उहाँले भन्नुभयो, “बाँदर आतङ्कका कारण धेरै किसानहरु बसाइँ सर्न बाध्य छन् । सरकारले यसप्रति गम्भीर भएर सोच्न जरुरी छ ।”
वि.सं. २०७५ साल फागुनमा पनि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्याउने भन्दै भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी झिकाएर दर्जनौँ बाँदर समातिएको थियो । यद्यपि, नियन्त्रणमा लिइएको बाँदर निकुञ्जमा लैजान अगावै समातेर राखेको राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो ।
बाँदर समात्दा पशु अधिकारकर्मीले बिरोध गरेका कारण बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले बाँदरलाई खोरमा थुन्ने र परिवार नियोजन गर्नुपर्ने आवाजसमेत उठाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु दश लाख आर्थिक सहयोगमा वडा नं.–५ लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालिएको थियो ।
किसानको मागपछि उसबेला बाँदर समात्न आर्थिक सहयोग उपलब्ध गराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले त्यसयता सहयोग गरेको थिएन । दश स्थानीय तह रहेको जिल्लाका धेरैजसो ठाउँमा बाँदर आतङ्क रहेको छ ।
खेतबारीमा टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन लागिएका विभिन्न बालीनालीसमेत बाँदरले विनाश गरेपछि जिल्लाका किसान हैरानीमा परेका छन् । बाँदरका बथान गाउँमा आएर खेतबारीमा लगाइएका बालीनाली सखाप पार्न थालेपछि धपाउन कतिपय ठाउँका किसानले चन्दासमेत सङ्कलन सुरु गरेका छन् ।
नेपालमा बाँदर मार्न कानूनी अड्चन भएकाले उचित व्यवस्थापन गर्न पहल थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । देशभर समस्याको रुपमा देखा परेको बाँदर नियन्त्रणका लागि नगरपालिकाले नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्झौता गरेको छ ।


