खोटाङ, १३ असोज । केपिलासगढी गाउँपालिकाले वर्षाका कारण अवरुद्ध सडक मर्मत शुरु गरेको छ । दशैँ, तिहार तथा छटलाई लक्षित गर्दै गाउँपालिकाले वर्षादको समयमा गएको पहिरोका कारण अवरुद्ध सडक मर्मत शुरु गरेको हो ।
गत असोज ८ गतेदेखि जालपा–कादेल–बाक्सिला, जालपा–फेदी–बाक्सिला, बाक्सिला–सुङ्देल लगायत मुख्य–मुख्य सडक मर्मत शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । हाल गाउँपालिकाको जेसिभी र व्यवसायीको स्काभेटर प्रयोग गरेर सडकमा थुप्रिएको पहिरो पन्छाउने र खाल्डाखुल्डी सम्याउने काम भइरहेको छ ।
अवरुद्ध सडक मर्मत गर्न अझै हप्ता दिन लाग्ने गाउँपालिकाले जनाएको छ । वर्षाका कारण सप्तेश्वरको थर्पुडाँडा, दारेगौँडा र तापखोलामा ठूलो पहिरो गएको छ । यस्तै, बाक्सिलाबाट सुङ्देल जाने सडकको पिपलडाँडामा पहिरो गएको छ ।
सडक मर्मत भएपछि उपभोग्य सामग्री ढुवानीका साथै यात्रा गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । वर्षाका कारण हाल जिल्लाका दश वटै स्थानीय तहमा बनेका अधिकांश कच्ची सडक अवरुद्ध बनेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि ट्याक्टर व्यवसायीसँगको सहकार्यमा सडक मर्मत गरिरहेको छ । गाउँपालिकाभित्रका २१ जना ट्याक्टर व्यवसायीले सडकको खाल्डाखुल्डीमा थुपार्ने रोडा ओसार्न तीन÷तीन दिन निःशुल्क ट्याक्टर उलपब्ध गराएका छन् ।


