भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

Halesi Khabar

काठमाडौँ । सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

आज आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलि सोमबारबाट देशभर यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताउनुभयो ।

सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभउनुभयो । कोभिड–१९ सङ्क्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । नेपाल राष्ट्र बैङ्कले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेको उहाँले बताउनुभयो ।

हाललाई एक जिल्लाबाट अर्काे जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । काठमाडौँ उपत्यकाको हकमा भने यो लागू नहुने बताएको छ । उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु फाट्टफुट्ट गुडेका छन् ।

व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागिसमेत तयारी भइरहेको बताएका छन् । भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएपछि विभिन्न ठाउँमा रोकिएर रहेका यात्रु आ–आफ्नो गन्तव्यतर्फ जाने तयारीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया