नेकपा विवाद समाधानतर्फ ः नेकपा बैठकमा ओली र प्रचण्डको एउटै बोली

Halesi Khabar

काठमाडौँ। शनिबार ४ घण्टा चलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विगतको जस्तो तिक्तताको वातावरण देखिएन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एकै लयमा मन्तव्य आएपछि अब नेकपामा देखिएका विवाद मिल्ने दिशातर्फ गएको स्पष्ट भएको छ ।

बैठकको शुरुमै ओलीले आत्मलोचना गर्नुभएको थियो । उहाँले आफूले पनि गल्ती कमी कमजोरी गरेको स्वीकार गर्नुभयो । आफूले पनि सुधार गर्ने र अरुले पनि गल्ती कमजोरी सुधार गर्नुपर्ने बताएको सचिवालयका एक सदस्यले बताए ।

ओलीले बैठकमा भन्नुभयो, “सबै साथीहरु मिल्नुको विकल्प छैन, पार्टी एकता भंग गर्नु हुँदैन, बरु चाँडो महाधिवेसन गर्ने विषयमा स्थायी कमिटीमा छलफल गरौं, म लचक नै छु,, सबैले आआफ्नो अडान राखेर पनि भएन ।”

ओलीले लामो समय बोल्नुभएको थियो । सरकार सञ्चालन, कार्यशैली लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको जनाइएको छ । गल्ती कमी कमजोरी सच्याउँदै अघि बढ्ने प्रस्ताव ओलीले राख्नुभएको थियो ।

विगत बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएका अर्का अध्यक्ष प्रचण्डले आजको बैठकमा भने राजीनामाको कुनै विषय नै उठाउनुभएन । उहाँले ओलीलाई समर्थन गरे जस्तो गर्नुभएको थियो ।

प्रचण्डले बैठकमा भन्नुभयो, “मिलेर जानुपर्छ, मिल्नुको विकल्प छैन । कम्युनिष्ट पार्टी एक हुनु भनेको ऐतिहासिक आवश्यकता हो । अहिलेसम्म जे–जे भयो, अब अगाडि बढौं । सकारात्मक दिशामा अगाडि जाऔँ ।”

बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले भने असन्तुष्टि पोख्नुभएको छ । नेता नेपालले बैठकमा भन्नुभयो, “चोचो मोचो कसैको मिलेर हुँदैन, विधी र प्रक्रियाको कुरा हो, कसैले गर्दैमा रोकिन्न ।”

कम्युनिष्ट पार्टीमा विधि र प्रक्रिया मुख्य कुरा भएको भन्दै अर्का नेता झलनाथ खनालले व्यक्ति मिलेर मात्र केही नहुने बताउनुभयो । नारायणकाजी श्रेष्ठले विधि प्रक्रियामा अगाडि बढ्नुपर्ने भन्दै कम्युनिष्ट पार्टी एकजना नेताले चलाउने नभई सबैको भावना समेटेर अघि बढ्ने हुनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष बामदेव गौतमले विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने भन्दै आपत्ति जनाउनुभयो । त्यसैगरी, बैठकमा रामबहादुर थापा बादल, इश्वर पोखरेल र विष्णु पौडेलले समन्वयात्मक कुरा राख्नुभएको छ । नागरिक खबरबाट साभार…

तपाईको प्रतिक्रिया