यो वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाता लगाइने

Halesi Khabar

खोटाङ, २ साउन । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो ।

शहरी विकास मन्त्रालयले जारी गरेको सूचना अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, केपिलासगढी गाउँपालिकाका २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २०३, बराहपोखरी गाउँपालिकाका १९६ र साकेला गाउँपालिकाका १५० घरधुरीमा जस्तापाता लगाइने भएको छ । जिल्लामा गत वर्षदेखि लागू भएको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५ घरका लागि जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो ।
पन्ध्र वडा रहेको सो नगरपालिकामा नगरपालिकाको तर्फबाट २० घर थप गरेर ४५ घर गरीब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि रकम प्रदान गरिएको छ । दुई वर्षभित्र खरको छानामुक्त बनाउने थालेको नगरपालिकामा करीब ९०० घर गरीब परिवार रहेको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत सरकारले तीन वर्षभित्र देशभर खरको छानामुक्त गर्ने लक्ष्य लिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “अति बिपन्न, असहाय, अशक्त, बृद्धबृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाई पहिलो प्राथमिकता दिइनेछ”, उहाँले भन्नुभयो, “तीन वर्षभित्र जिल्लाका सबै घरबाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाइने छ ।”

दुई नगरपालिका र आठ गाउँपालिकागरी दश स्थानीय तह रहेको जिल्लामा ४२ हजार घरधुरी स्थानीय बासिन्दा बसोबास गर्दै आएका छन् । शहरी विकास मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार खोटाङमा २३ हजार खरको छाना भएको घर रहेका छन् ।

तपाईको प्रतिक्रिया