खोटाङ, ३१ असार । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको स्मृतिमा खोटाङको दिक्तेलस्थित मुडेमा वृक्षारोपण गरिएको छ । ‘शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को आयोजनामा शहीद कार्की दम्पत्तिको १९ आँै स्मृति दिवसको अवसर पारेर बुधबार मुढेमा निर्माणाधी शहीद पार्क परिसरमा वृक्षारोपण गरिएको हो ।
शहीद कार्की दम्पत्तिको वि.सं. २०५९ असार ३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीले गोली हानी हत्या गरेको थियो । घटनाका प्रत्यक्षदर्शी तथा तत्कालीन नेकपा माओवादी नेता कार्यकर्ताका अनुसार तत्कालीन शाही सेनाले खोटाङको सिम्पानीबाट दिलकाजीलाई गिरफ्तार गरेर हत्या गरेको हो ।

दिलकाजीसँगै गिरफ्तारमा पर्नुभएकी उहाँकी श्रीमती इन्दिराको समेत सोही ठाउँमा सेनाले गोली हानी हत्या गरेको थियो । जनयुद्धमा शहादत प्राप्त गर्नुभएका शहीद दिलकाजी कार्कीलाई खोटाङको जनयुद्धको अभिभावक मान्ने गरिएको छ ।
जनयुद्धमा शहादत प्राप्त शहीद दिलकाजी कार्की र अर्का शहीद ठूलकुमार श्रेष्ठको नाममा खोटाङमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’ गठन गरिएको छ । जनयुद्धमा शहादत प्राप्त खोटाङका ७२ जना शहीदहरुको सम्झनामा दिक्तेलस्थित मुडेमा शहीद पार्क निर्माण शुरु गरिएको हो ।
दिक्तेलस्थित भवनगैरामा निर्माणाधीन प्रतिष्ठानको भवनको भुइँतलाको काम भइरहेको छ । साविकको नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय रहेको स्थानमा निर्माणाधीन भवनको लागि प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन थियो ।


