खोटाङ, ३० असार ः जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । कार्यालय प्रमुख श्रेष्ठले सेवाग्राहीबाट रु नौँ लाख ३४ हजार घुस लिइरहेको मङ्गलबार आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टङ्गालका प्रवक्ता प्रदीपकुमार कोईरालाले बताउनुभयो । श्रेष्ठको साथबाट श्रोत नखुलेको रु ९९ हजार ५०० पनि जफत गरिएको बताइएको छ ।
कार्यालय प्रमुख श्रेष्ठ रङ्गेहात पक्राउ परेपछि जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय आसपासमा सिल गरेर कसैलाई पनि प्रवेश दिइएको छैन । श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांश निर्माण ब्यबशायी तथा उपभोक्ता समितिसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दैआएको सेवाग्राहीको गुनासो छ ।
रङ्गेहात पक्राउ परेका कार्यालय प्रमुख श्रेष्ठलाई अख्तियारको केन्द्रीय टोलीले मङ्गलबार नै काठमाडौँ लगेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । केन्द्रबाट आएको अख्तियारको टोलीलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीले सुरक्षाको व्यवस्था मिलाएको थियो ।
यता श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले अख्तियारलाई धन्यबाद दिनुभएको छ । उहाँले सामाजिक सञ्चाल फेसबुमा मार्फत अख्तियारलाई धन्यबाद दिदै अब कुनै पनि भ्रष्टाचारी उम्कन नदिने बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्चाल फेसबुकमा पोष्ट गरेको कुरा जस्ताको तस्तै ।
नौलाख चौतिस हजार घुससहित डिभिजन सिंचाइ कार्यालय, खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियारको टोलिले पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।
क्याबात अख्तियार ……………………………..
तर घुस बुझाउनेलाई नेपथ्यमा राखेर रहस्यमय चै नबनाइयोस।
अन्यत्र पनि कहिँ कतै यस्ता कृयाकलाप भएका छन् भने अबिलम्ब खोजी होस र भ्रष्टाचार( अनियमितता अक्षम्य अपराधको रूपमा कानुनको कठघरामा उभ्याइयोस।
३० असार,२०७७
काठमाडौ।


