काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखा आवद्ध पत्रकारहरुले सञ्चारगृहहरुले विगतमा गरेका नाफाबाटै अहिले विपतमा परेका पत्रकार तथा कर्मचारीको दायित्व बहन गर्नुपर्ने आवाज उठाएका छन् ।
काठमाडौं शाखाका अध्यक्ष शन्तराम विडारी, उपाध्यक्ष सूर्य सुवेदी, सचिव मोहन पन्तसहित दर्जनौं पत्रकारहरु आज महासंघको सञ्चारग्रामस्थित केन्द्रिय कार्यालयमा पुगी श्रमजीवी पत्रकारहरुले अहिले भोग्नुपरेको समस्याको हल खोज्न दवाव दिएका छन् ।
‘३० वर्ष नाफा कमाएका पत्रिकाले ३ महिना पनि नपुग्दै हामी डुब्यौं भनेर पत्रकार निकाल्न पाइन्छ ?, महासंघ शाखा अध्यक्ष विडारीले केन्द्रलाई यस्तो प्रश्न उठाएका थिए ।
केन्द्रीय अध्यक्ष गोविन्द आचार्यसामू समस्या राख्दै विडारीले सञ्चारगृहका व्यवस्थापकसँग बसी समाधन खोज्न आग्रह गरेका थिए ।
त्यसक्रममा शाखाले किटनाशक औषधि छर्कने यन्त्र तथा केही औषधि हस्तान्तरण गरिएको थियो । यसले कोरोना भाइरसको जोखिम घटाउने भन्दै शाखाको व्यवस्थापनले उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
ठूला प्रकाशन गृहले कोरोना कारण देखाउँदै पत्रकार, कर्मचारीलाई निकाल्ने, बेतलबीमा राख्ने, आधा तलब दिने जस्ता काम गरी अमानवीय व्यवहार गर्दै आएकोमा सर्वत्र निन्दा हुँदै आएको छ ।
महासंघ केन्द्र र न्यूनतम पारिश्रमिक निर्धाण समितिले पनि यस विषयमा गम्भीर भई ७ दिनभित्र समस्या सुल्झाउन भनिसकेको छ ।
समितिले आज नै एक विज्ञप्ति जारी गरी पत्रकारका समस्याको सुनुवाई नगर्ने सञ्चार गृहको नाम सार्वजनिक गर्दै अघि बढ्ने बताइसकेको छ ।
खुला नेपालबाट


