खोटाङ, ९ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिने भएको छ । जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएका दिक्तेल बजारलाई आगलागीबाट जोगाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको संयुक्त लगानीमा फायरिङ गेट जडान गरिने भएको हो ।
आगलागीका कारण वर्षेनी करोडौँको क्षति हँुदै आएको दिक्तेल बजारमा आगामी दिनमा हुने आगलागीका घटनालाई तुरुन्तै नियन्त्रण गर्न १०० मिटरको फरकमा विभिन्न २० ठाउँमा फायरिङ गेट राख्ने तयारी गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “दिक्तेल बजारमा अहिले शहरी खानेपानी आयोजनाको काम तीव्रगतिमा सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाको पाइपमा फायरिङ गेट जडान गरेर १०० मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्न २० ठाउँमा जडान गर्ने योजना बनाएका हौँ ।”
फायरिङ गेट जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु १५ लाख र बाँकी शहरी खानेपानी आयोजनाको बजेट लगानी गरिने जनाइएको छ । नगरप्रमुख रिजालका अनुसार दिक्तेल बजारमा सञ्चालन हुने खानेपानी आयोजनाको मुख्य पाइपमा फायरिङ गेटको पाइप जडान गरेर आवश्यक परेको खण्डमा प्रयोग गर्न सकिनेछ ।
विशेष किसिमको पाइप जडान गरिने फायरिङ गेटमार्फत करीब १० मिनेटमै एउटा दमकल (बारुणयन्त्र)मा पानी भर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिका र शहरी खानेपानी आयोजना उपभोक्ता समितिबीच शुक्रबार बसेको बैठकले दिक्तेल बजारको विभिन्न ठाउँमा फायरिङ गेट राख्ने निर्णय गरेको जनाइएको छ ।
दिक्तेल बजारमा वि.सं. २०७२ साल पुस–२ गते रत्नपार्कका व्यापारी हीरालाल पुरीको घरबाट शुरु भएको आगलागीबाट पुरीसहित सात स्थानीय बासिन्दाको घरमा क्षति पुगेको थियो । विद्युत फल्ट भएर शुरु भएको आगलागी नियन्त्रण गर्न तत्कालीन दिक्तेल नगरपालिकाको दमकलमा पानी नहुँदा ठूलो क्षति पुगेको थियो ।
त्यसयता जिल्लाको सदरमुकामसमेत रहेको दिक्तेल बजारका विभिन्न ठाउँमा वर्षेनी आगलागीका घटना भइरहेका छन् । पानी अभावमा आगलागी नियन्त्रण गर्न नपाएर ठूलो क्षति व्यहोर्दै आएका दिक्तेल बजारका स्थानीय बासिन्दा नगरपालिकाको पहलमा फायरिङ गेट जडान गरिने भएपछि हर्षित बनेका छन् ।
पन्ध्र वडा वडा रहेको नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ । आशिष निर्माण सेवा कम्पनीले निर्माणको काम जिम्मा लिएको उक्त आयोजनाको शिलान्यास गत चैत–२४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गर्नुभएको थियो ।
नेपाल सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम शुरु गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभएको छ । आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडान लगायतका काम गरिने जनाइएको छ ।
दिक्तेल बजारमा विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पनि खानेपानी विस्तार तथा सडक ढलानको काम तीव्रगतिमा भइरहेको छ । बन्दाबन्दीको समयमा कामदारहरुबीच सामाजिक दूरी कायम गर्दै दिक्तेलस्थित रत्नपार्कको किराँतचोकदेखि वेशक्याम्पसम्मको सडक ढलान तथा खानेपानीको पाइप जडान गर्ने काम तीव्रगतिमा अगाडि बढाइएको हो ।


