खोटाङ, १ जेठ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका स्थानीय बासिन्दा आफ्नो गाउँमा विद्युत विस्तार कस्सिएका छन् । छिमेकी वडा बडहरे र दुर्छिममा केन्द्रीय प्रशारण लाईनको विस्तार भइसकेको अवस्थामा च्यास्मिटारमा विद्युत विस्तार गर्न टोल–टोलमा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईको आव्हानमा बिहिबार च्यास्मिटारमा भएको बैठकले साविकको नौँ वडामा विद्युत विस्तार उप समिति गठन गर्न प्रतिवडा एक÷एक जनालाई जिम्मेवारी तोकिएको छ । बैठकले विद्युत विस्तार गर्न विद्युत विस्तार मूल समिति तथा वडाध्यक्षको सहजीकरणमा नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी तत्काल लागत स्टीमेट तयार पार्ने काम पूरा गर्ने निर्णय गरेको छ ।
कतिपय टोलको लागत स्टीमेट तयार भइसकेकाले लागत स्टीमेट तयार नभएका टोलको तत्काल लागत स्टीमेट तयार पार्ने निर्णय गरिएको वडाध्यक्ष भलाराज राईले बताउनुभयो । स्थानीय तह कार्यान्वयनमा आएको वर्षबाटै उज्यालो वडा घोषणा गर्ने अभियान थालेको नगरमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा विद्युत बिस्तार गर्न बाँकी छ ।
च्यास्मिटारका प्रमुख क्षेत्रमा पोल राख्ने र तार टाँग्ने काम समेत भइरहेको छ । यसअभिसम्म सोलार तथा टुकीको भरमा बस्दै आएका स्थानीय बासिन्दा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुने भएपछि हर्षित भएका छन् ।


