खोटाङ, ३ चैत । गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ः०० बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो ।
हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५ घरको छाना उडाएको जानकारी आएको छ । हावाहुरीले सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका स्थानीयवासीको २५ घरको छाना उडाएको जानकारी प्राप्त भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाकै वडा नं.–८ धितुङका छविलाला सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीको घरको छानो हावाहुरीले उडाएको बताइएको छ । हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको नगरप्रमुख राईले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार रावाबेँसी गाउँपालिका–१ कुभिण्डे हरमटारस्थित युवराज भट्टराईको घर, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ, रमेश श्रेष्ठ तथा दिक्तेल रुपाकोट मझुवागढी–७ दोर्पाका सुनसरी राई, सोही नगरपालिका–३ बाम्राङका पदमबहादुर कटुवालको घरको छानो हावाहुरीले उडाएको बताइएको छ । हावाहुरीका कारण पीडित बनेका स्थानीयलाई छिमेकीहरुले आश्रय दिएर राखेको बताइएको छ ।
हावाहुरीका कारण जिल्लाका धेरै ठाउँहरुमा क्षति भएको जानकारी आएपनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रमुख नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताउनुभएको छ । “गएराति चलेको हावाहुरीले भौतिक संरचना तथा कृषिबालीमा ठूलो क्षति गरेको भन्ने जानकारी आएको छ । अहिलेसम्म मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन”, उहाँले भन्नुभयो, “हावाहुरीबाट पीडित बनेका परिवारलाई सुरक्षित राख्न सम्बन्धित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ । जिल्लामा भएका क्षतिको विवरणसमेत सङ्कलन गरिरहेका छौँ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जापलास्थित जनता आधारभूत विद्यालयको भवनको छाना पनि हावाले उडाएको स्थानीयवासीले बताएका छन् । हावाहुरीले जिल्लाका अधिकांश विद्यालयमा क्षति पु¥याएको सूचना आएपनि यकिन विवरण आउन बाँकी रहेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीथ विश्वकर्माले जानकारी दिनुभएको छ ।
असिनापानीसहित चलेको हावाहरीले सडकमा रुखहरु खसाएका कारण जिल्लाका अधिकाशं ग्रामीण सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक सञ्चालनका लागि सम्बन्धित स्थानीय तहका जेसिबी प्रयोगमा ल्याइएको जनाइएको छ ।
हावाहरीका कारण सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेगाहर्जको मुडेमा रहेको रिपिटर टावरमासमेत क्षति गरेको स्थानीयले बताएका छन् । हावाहुरीले रिपिटर टावरमा क्षति गरेपछि रेडियोको प्रशारण सेवासमेत अवरुद्ध भएको छ ।
तीव्रगतिको हावाहुरीले रेडियोको टावर भाँचिएर भुइँमा थुप्रिएको सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले जानकारी दिनुभएको छ । चट्याङको समेत जोखिममा रहेको मुडेडाँडामा रहेको हलेसी एफएमको रिपिटर टावरमा हावाहुरीले क्षति गरेपछि पुनः सञ्चालनमा ल्याउन समस्या भएको छ ।
यस्तै, हावाहुरीका कारण गएरातिबाट पूर्णरुपमा अवरुद्ध भएको विद्युत सेवा भर्खरैबाट पुनः सञ्चालनमा आएको छ । उदयपुरको जलजले र ओखलढुङ्गाबाट आउने ३३ केभी प्रशारण लाइन विद्युतमा देखिएको समस्या समाधान गरेपछि सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङले जनाएको छ ।


