खोटाङ, २ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वर्ष खोटाङका दुई हजार ८५७ जना विद्यार्थी सहभागी हुने भएका छन् । साधारणधारको नियमितमा दुई हजार ४५१ जना, साधारणधारकै ग्रेडवृद्धितर्फ २४८ जना, प्राविधिकधारको नियमितमा १५५ जना र प्राविधिकधारकै ग्रेडवृद्धितर्फ तीन जना विद्यार्थी सहभागी हुने भएका हुन् ।
एसइई परीक्षा सञ्चान गर्न जिल्लामा २० वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका तीर्थ विश्वकर्माले जानकारी दिनुभएको छ । “यस वर्षको एसइई परीक्षा यही चैत–१९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदै छ । परीक्षाका लागि केन्द्र निर्धारण गरेर प्रश्नपत्रसमेत ल्याइसकिएको छ”, उहाँले भन्नुभयो, “हरेक दिन बिहान ८ः०० बजेबाट सुरु हुने एसइई परीक्षामा जिल्लाका ९८ वटा सामुदायिक तथा छवटा निजी माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । देशभर एकैसाथ सञ्चालन हुने एसइई परीक्षाको तयारी जिल्लामा समेत पूरा भएको छ ।”
गत वर्ष जिल्लामा एकवटा प्राविधिकधारसहित २५ वटा एसइई परीक्षा केन्द्र तोकिएको थियो । यस वर्ष जिल्लामा विद्यार्थी सङ्ख्या घट्दै गएपछि परीक्षा केन्द्रको सङ्ख्यासमेत घटाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ ।
साधारणधारतर्फको एसइई परीक्षा सञ्चालनका लागि त्रिभुवन मावि ऐसेलुखर्क, पृथ्वी मावि बाक्सिला, देउराली मावि डुम्रेधारापानी, शारदा मावि खार्पा, लक्ष्मी मावि बडहरे, दुर्छिम मावि दुर्छिम, महेन्द्रोदय मावि हलेसी, चम्पावती मावि बुइपा, सरस्वती मावि दिक्तेल, दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेल, पञ्च मावि दिक्तेल, साकेला मावि रतन्छा, महेन्द्रोदय मावि ओख्रेडाँडागाउँ, कृष्ण मावि टेम्मा, सिम्पानी मावि सिम्पानी, भगवती दिनानाथ मावि खोटाङबजार, चिसापानी मावि चिसापानी, बालकन्या मावि फाक्टाङ, राष्ट्रिय मावि बास्पानी र प्राविधिकधारतर्फ सरस्वती मावि दिक्तेल निर्धारण गरिएको छ । विद्यार्थी सङ्ख्या कम भएका कारण गत वर्षहरुमा सञ्चालन हुँदै आएको सरस्वती मावि मात्तिम, जनकल्याण मनकामना मावि निर्मलीडाँडा, सरस्वती मावि अर्खौले र विश्वज्योती मावि लामीडाँडाको केन्द्र हटाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका सूचना अधिकारी नन्दबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।
गत वर्षको एसइई परीक्षामा तीन हजार २२६ जना विद्यार्थी सहभागी भएकामा यस वर्ष ७७५ जना विद्यार्थी घटेको पाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा एसइई परीक्षा दिने विद्यार्थीको सङ्ख्या घट्नुमा बसाइँसराइ प्रमुख कारण बनेको अर्थ विश्लेषक डा. हरि रोकाले बताउनुभएको छ ।
गत वर्षको एसइई परीक्षामा जिल्लाका दशवटा विद्यालयको नतिजा शून्य भएको थियो । यस वर्ष त्यस्तो निराशाजनक नतिजा नआओस् भन्ने उद्देश्यले जिल्लाका केही पालिकाले एसइई विशेष सहयोग कक्षा सञ्चालन गरेका छन् । ती कक्षामा सहभागी विद्यार्थीले ट्युसन पढ्दा लाग्ने खर्च सम्बन्धित पालिकाले नै व्यहोरेका छन् ।
जिल्लामा एसइई परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय लगायतसँग समन्वय भइरहेको जनाइएको छ । एसइई परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्न केही दिनभित्रै सरोकारवाला निकायसँग छलफल गरिने परीक्षा सञ्चालन समितिका अध्यक्ष एवम् जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।


