काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ ।
मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको थियो । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो ।
मन्त्रालयले बिहीबार बिहान गरेको नयाँ अपडेटअनुसार कुल २५० जना संक्रमित भएको जनाएकोमा यी २५० जनामा दुई दिन अगाडि नै संक्रमित भनिसकिएका धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुष भनिएको छ । यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि मन्त्रालयले सार्वजनिक गरेको नयाँ अपडेटमा थपिएका यी पाँच जना पुरानै तथ्य भएको बताउनुभएको छ । ‘हामी यी व्यक्तिलाई आइसोलेसनमा ल्याइसकेका छौं,’ उहाँले भन्नुभयो, ‘पुरानै तथ्य हालेर अपडेट गरिएको छ ।’
मन्त्रालयले मंगलबार राति धनुषाका २ जना, महोत्तरीका २ जना र १ जना सर्लाहीका संक्रमित भएको जनाएको थियो । महोत्तरीको जलेश्वरका भनिएका ३५ वर्षीय पुरुष जनकपुरधाममा पुस्तक व्यवसाय गर्दै आएका छन् ।
महोत्तरीकै बलबा नगरपालिकाका १६ वर्षीय बालक भारतबाट भागेर आएपछि नगराइनस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको थियो । धनुषाका २० वर्षीया युवती मिथिला नगरपालिका १० लालगढकी हुन् ।
भारतको राजधानी दिल्लीमा श्रीमान् र छोरासँग बस्दै आएकी उनी गत चैत १ गते नै यहाँ आएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । जनकपुरधामका ४० वर्षीय पुरुष पत्रकार हुन् भने सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का ४५ वर्षीय पुरुष मानसिक सन्तुलन ठीक नभएको व्यक्ति हुन् ।


