काठमाडौँ । चिनियाँ वायुसेनाको जहाज विभिन्न स्वास्थ्य सामग्री लिएर आज (बुधबार) राजधानी काठमाडौँ आएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)ले नेपाली सेनालाई सहायतस्वरुप दिएको स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको आईएल–७६ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
उक्त जहाज सिचुवान प्रान्तको राजधानी छेन्दुबाट आएको जनाइएको छ । स्वास्थ्य सामग्री लिएर आएको जहाज आजै फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीका अनुसार चिनियाँ वायु सेनाको उक्त जहाजले विभिन्न १३ प्रकारका स्वास्थ्य सामग्री ल्याएको छ ।
३९१ बक्समा एक लाख १६ हजार ९८४ पिस स्वास्थ्य सामग्री नेपाली सेनालाई चिनियाँ सेनालाई उपलब्ध गराइएको भन्ने जानकारी प्राप्त भएको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । ती स्वास्थ्य सामग्री के–के हुन् भन्ने जानकारीचाहिँ आफूलाई प्राप्त नभएको प्रवक्ता क्षेत्रीले बताउनुभएको छ ।
नेपाली सेनाले भने चिनियाँ सेनाबाट के–के स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो भन्नेबारेमा औपचारिक जानकारी दिएको छैन ।


