खोटाङ, ३० वैशाख । ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘पोजेटिभ’ देखिएका साकेला गाउँपालिका–२ रतन्छाका दुईसहित छ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । हिजो सोमबार गरिएको आरडिटि परीक्षणका क्रममा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएसँगै स्वाब सङ्कलन गरेर विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा लगेर परीक्षण गर्दा पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।
गाउँपालिकाले खरिद गरेर ल्याएको किटमार्फत काठमाडौँबाट आएर क्वारेन्टाइनमा बसेका रतन्छाका २३ जनामा सोमबार बिहान आरडिटि परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो । दोहो¥याएर परीक्षण गर्दासमेत दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुसहित उनीहरुका परिवारका चार सदस्यको स्वाब सङ्कलन गरेर सोमबार नै परीक्षणका लागि विराटनगर पठाइएको थियो ।
सोमबार काठमाडौँबाट आएर क्वारेन्टाइनमा बसेका ५३ जनाको आरडिटि परीक्षण गरेको गाउँपालिकाले आज (मङ्गलबार) ३० जनाको परीक्षण गरेको छ । हिजो र आज परीक्षण गरिएका सबै जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो ।
पाँच वटा वडा रहेको उक्त गाउँपालिकामा गत वैशाख–१२ र १३ गते राजधानी काठमाडौँबाट आफैले गाडी रिजर्भ गरेर ५२ जना स्थानीय बासिन्दा भित्रिएपछि क्वारेन्टाइनमा राखिएको थियो । पहिलो चरणमा क्वारेन्टाइनमा राखिएका व्यक्तिमा परीक्षण गर्न गाउँपालिकाले २०० वटा किट आफैले खरिद गरेर ल्याएपछि आरडिटि परीक्षण गरिएको स्वास्थ्य शाखा संयोजक रिता ढकालले जानकारी दिनुभयो ।
यसअघि जिल्ला स्वास्थ्य कार्यालयले अभियानको रुपमा सञ्चालन गरेको आरडिटि परीक्षणका क्रममा उक्त गाउँपालिकाका १५ जनामा परीक्षण गरिएको थियो । गत चैत यता विदेशबाट जिल्ला भित्रिएका व्यक्तिमा कोरोना सङ्क्रमण भएनभएको यकिन गर्न स्वास्थ्य कार्यालयले गरेको आरडिटि परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
यद्यपि, काठमाडौँबाट आएका व्यक्ति तथा स्थानीय बासिन्दालाई अझै पनि सामाजिक दूरी कायम गर्दै होम क्वारेन्टाइनमै बस्न आग्रह गरिएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि दिनानुदिन वृद्धि हुँदै गएकाले नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन पूर्णरुपमा पालना गर्न अनुरोध गरिएको खड्काको भनाइ छ ।


