काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १९१ पुगेको हो ।
सङ्क्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मंगलबार सङ्क्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् ।
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा पहिलो पटक माघ गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ठूलो संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि सोमबार मात्रै २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, चितवन र झापामा २ र २ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनस् भर्ना गरिएको छ ।
त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ ।


