गाउँ फर्किएका युवा सडक स्तरोन्नतिमा सक्रिय, सकिने कामलाई आफै गर्नुपर्छ भन्ने सन्देश

Halesi Khabar

खोटाङ, २९ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीले युवा आफ्नो क्षेत्रका सडक बाह्रै महिना सञ्चालनमा ल्याउनेगरी स्तरोन्नतिमा जुटेका हुन् ।

आठ वर्षअघि ट्र्याक खोलेर अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक खण्डको खार्मीस्थित कालिका माविदेखि तापखोलासम्मको ट्र्याकलाई ग्रेड मिलाउँदै स्तरोन्नतिको काम थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमन्त राईले बताउनुभयो । “प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत विनियोजन भएको बजेटबाट स्काभेटर लगाएर सडक फराकिलो पार्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “स्काभेटरले फराकिलो पारेको सडकमा वर्षादको समयमा आउने भलबाढी रोकेर बाह्रै महिना सञ्चालनमा ल्याउन युवा परिचालन गरिएको हो ।”

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद भट्टराईको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत विनियोजन गरिएको रु १५ लाख बजेटबाट खार्मीस्थित कालिका माविदेखि तापखोलासम्मको करीब (सात किलोमिटर) सडक खण्डमा स्तरोन्नतिको काम थालिएको उपभोक्ता समितिका अध्यक्ष राईले बताउनुभयो । “स्काभेटरको अगाडि–पछाडि सामाजिक दूरी कायम गरेर दैनिक १५ देखि २० जना युवाले सडक स्तरोन्नतिका काममा श्रमदान गरिरहेका छन्”, उहाँले भन्नुभयो, “विनियोजित बजेटले मात्र सडक स्तरोन्नतिको काम नसकिने भएकाले स्थानीय युवाको सक्रियतामा श्रमदान जुटाइएको हो ।”

लकडाउन अगावै गाउँ भित्रिएका अधिकांश युवा सामाजिक दूरी कायम गरेर दैनिक सडक स्तरोन्नतिका काममा खटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका पुग्ने सबैभन्दा छोटो दूरीको उक्त सडक खण्डमा पर्ने कालिका मावि–तापखोला सडक यहि वैशाख–२१ गतेदेखि स्तरोन्नतिको काम थालिएको हो ।

हिउँदभर करीब छ महिनामात्र सञ्चालन हँुदै आएको सो सडक वर्षादको समयमा पूर्ण रुपमा बन्द हुँदा दैनिक उपभोग्यवस्तु ढुवानी तथा आवतजावतमा समेत समस्या हुने भएकाले बाह्रै महिना सञ्चालनमा ल्याउन युवाको श्रमदान जुटाइको स्थानीय समाजसेवी ईखबहादुर राईले बताउनुभयो । “स्थानीयस्तरबाटै गर्न सकिने कामलाई पनि राज्यको मुख ताक्ने प्रवृत्ति देशमा विकास हुँदै गएको छ”, उहाँले भन्नुभयो, “आफूले गर्न सकिने कामलाई आफैले गर्नुपर्छ भन्ने सन्देश दिन खार्मीले युवा श्रमदानमा जुटेका हुन् ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट उत्तरी क्षेत्रको अर्को व्यापारिक केन्द्र बाक्सिला बजार पुग्ने सबैभन्दा छोटो दूरीको सडक भएपनि स्तरोन्नतिका काममा यसअघिसम्म कसैको ध्यान पुगेको थिएन । सो सडक खण्डलाई बजेट प्राप्त नहुँदा हरेक वर्ष तुर्खाका युवाले श्रमदान जुटाएर मर्मत गर्दै आएका छन् ।

यसैबीच, रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुका स्थानीय युवा पनि यतिखेर सडक मर्मतमै सक्रिय रहेका छन् । वर्षादको समयमा आउने भलबाढी रोक्न तथा गाडी फस्ने ठाँउमा सोलिङ गरेर बाह्रै महिना सडक सञ्चालनमा ल्याउने उद्देश्यले मर्मत कार्य थालिएको स्थानीय युवा टीकाराम राईले बताउनुभयो ।

खार्मी र दम्कुसँगै लकडाउनको समयमा घर आएर बसेका जिल्लाका हरेक स्थानीय तहका युवा यतिखेर सामुहिक काममा व्यस्त छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चाडपर्वको समयमा पनि हरेक घरका एक÷एक जना भेला भएर सामुहिक काम गर्ने प्रचलन छ ।

चाडपर्वको अवसरमा आ–आफ्नो घर आवजावत गर्ने पाहुनालाई लक्षित गरेर सडक, गोरेटोबाटो, धारा तथा पँधेरा, मन्दिर लगायत सार्वजनिकस्थल मर्मत गर्ने गरिएको छ । सामुहिक काममा खटिने कतिपय ठाउँका युवालाई स्थानीय बासिन्दा तथा सामाजिक अगुवाले खाजासमेत उपलब्ध गराउने गरेका छन् ।

तपाईको प्रतिक्रिया