साकेला गाउँपालिकामा आरडिटी परीक्षण शुरु, क्वारेन्टाइनमा बसेकालाई पहिलो प्राथमिकता

Halesi Khabar

वैशाख २९ (मानेभञ्ज्याङ) । साकेला गाउँपालिकाले आजदेखि कोरोना भाइरसको आरडिटी परीक्षण शुरु गरेको छ । १४ दिनसम्म क्वारेन्टाइनमा बसेकालाई पहिलो प्राथमिकता दिएर आरडिटी शुरु गरिएको हो ।

आरडिटी परीक्षणका लागि पालिकाले २०० थान टेष्ट किट ल्याएको गाउँपालिका प्रमुख अर्जुनकुमार खडकाले बताउनुभयो । त्यस्तै वैशाख यता सो ताउँपालिकामा भारत लगायत जोखिमयुक्त क्षेत्रहरुबाट पैदल आउनेहरुको ३१ गतेभित्र तथ्याङक संकलन गरी परीक्षण गरिने भएको छ ।

विशेष गरेर भारतबाट आउनेहरुलाई प्राथमिकता दिएर उक्त परीक्षण गरिने प्रमुख खडकाले बताउनुभयो । यता नियमित रुपमा औषधी सेवन गर्दै आएका पाँचै वडाका १८५ जना दीर्घरोगीहरुलाई पालिकाले घरघरमै औषधी पु¥याईरहेको छ ।

लकडाउनका कारण औषधी खरिद गर्न नपाएका व्यक्तिहरुलाई पालिकाले निःशुल्क औषधी वितरण गरिरहेको हो । उता लकडाउनका कारण मारमा परेका कामदार, श्रमिक र अति विपन्न परिवारलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएर राहत वितरण गरिरहेको छ ।

गाउँपालिकाले २८ जना विभिन्न जिल्लाबाट आएका श्रमिकहरुलाई राहत वितरण गरेको छ भने १९३ अति विपन्न परिवारलाई पनि राहत वितरण गरिसकेको छ । त्यस्तै वडा नं. २ र ४ मा अति विपन्न परिवारको लगत संकलन भइरहेको छ ।

केही दिनभित्रै उक्त वडाहरुमा राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताउनुभयो । गाउँपालिकाले चामल, नुन, तेल, चिनी, साबुन लगायतका राहत समाग्री वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया