खोटाङ, २८ वैशाख । ‘लकडाउन’को समयमा विराटनगरबाट आठ जना यात्रु लिएर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका आएको निजी गाडीलाई प्रहरीले आज (आइतबार) नियन्त्रणमा लिएको छ । को १ च ९८०३ नम्बरको सो गाडीले विराटनगरबाट आठ जना यात्रु लिएर गाउँपालिका प्रवेश गरेको सूचना आएको र गाउँपालिकाको सहयोगमा प्रहरी चौकी याङ्सोलाटारले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले गाडीलाई पास दिएको र गाडीवालाले भाडामा मानिस ल्याएको बताइएको छ । रिजर्भमा आएका ती यात्रु कुनैपनि सङ्कट वा बिरामीसमेत नभएकोले किन आए भन्नेमा शङ्का उत्पन्न भएपछि गाडी र गाडीमा सवार सबै यात्रुलाई नियन्त्रणमा लिइएको हो ।
गाडी चालकसहित आठै जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “उनीहरुले अब २१ दिन क्वारेन्टाइनमा बस्नुपर्छ”, उहाँले भन्नुभयो, “यो समय सबै सम्यम र सचेत हुने समय हो । उनीहरुका कारणले गाउँमा समस्या नहोस भनेर हामीले क्वारेन्टाइनमा राखेका हौँ ।”
याम्खास्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिने बताइएको छ । गाउँपालिकाले पालिकाभन्दा बाहिरबाट आएका तथा वैदेशिक रोजगारीबाट आएका व्यक्तिलाई यसअघि पनि क्वारेन्टाइनमा राखेको थियो ।
गाउँपालिकाले आफ्ना नागरिकलाई लकडाउनका कारण भोको बस्नु नपर्ने भन्दै काठमाडौँ लगायत विभिन्न ठाउँमा भएका व्यक्तिलाई समेत राहत वितरण गर्दै आएको छ । पहिलो चरणमा राहत वितरण गरेको गाउँपालिकाले पुनः दोस्रो चरणमा राहत वितरण गर्न लागेको जनाइएको छ ।


