खोटाङ, २८ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’को अवधिमा सुत्केरी भएका महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण शुरु गरेको छ । लकडाउनको अवधि (चैत र वैशाख)मा सुत्केरी हुँदा पोषिलो खाद्य सामग्री जुटाउन नसकिरहेको अवस्थामा सुत्केरीलाई गाउँपालिकाले चना, केराउ, भटमास, गहुँ, कुखुराको अण्डा लगायतका पोषणयुक्त खाद्यवस्तु वितरण शुरु गरेको हो ।
लकडाउनको अवधिमा जन्मिएका नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री वितरण गर्न थालिएको गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । लकडाउनको अवधिमा सुत्केरी भएका सबै सुत्केरी आमालाई गाउँपालिकाभित्रै उपलब्ध हुने केराउ, भटमास, गहुँ, अण्डा लगायतका पोषणयुक्त खानेकुरा खरिद गरेर वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
लकडाउनको अवधिमा सात वडा रहेको सो गाउँपालिकामा ४६ जना महिला सुत्केरी भएका छन् । वडा नम्बर–५ सप्तेश्वर छितापोखरीकी रिजना राईलाई पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराएर अभियान शुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीले जानकारी दिनुभयो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सो गाउँपालिकाले यसअघि लकडाउनका कारण औषधि सेवन गर्न नपाएका ३०८ जना बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण औषधि ल्याउन नपाउँदा सेवन गर्न नपाएका दीर्घरोगीलार्ई गाउँपालिकाले आवश्यक औषधि ल्याएर निःशुल्क वितरण गरेको हो ।
लकडाउनका कारण समस्यामा परेका ज्यालादारी मजदुर तथा बिपन्न परिवारलाई राहत सामग्रीसमेत उपलब्ध गराइरहेको सो गाउँपालिकाले स्थानीय बासिन्दालाई दैनिक उपभोग्यवस्तु ढुवानीमा अनुदान दिने बताएको छ । गाउँपालिकाले दैनिक उपभोग्यवस्तु ढुवानी गर्न प्रयोग हुने प्रमुख मार्ग दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलीब्रिज निकाल्ने तयारी गरिएकाले आवश्यक सामग्री छिटो ढुवानी गर्नसमेत स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।


