खोटाङ, २७ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौँका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारी राख्नुभएको छ । विभिन्न कामको सिलसिलामा जिल्लाबाट काठमाडौँ गएर बसोबास गर्दै आएका जिल्लाबासी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण जिल्ला फर्कन नपाएर अलपत्र परेकालाई भोकै बस्न नपरोस भन्दै सांसद भट्टराई खाद्यान्नसहित जनताको कोठामै पुगेर राहत सामग्री वितरण गरिरहनुभएको हो ।
‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियान अन्तरगत लकडाउनमा परेर काठमाडौँमा बिचल्ली परेका खोटाङ्गे जनतालाई भोकै हुन नदिन उनीहरुको कोठामै राहत पु¥याएको गरिएको सांसद भट्टराईले बताउनुभयो । “लकडाउनका कारण कोहि खोटाङ्गे जनता भोकै बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “समस्या भयो भने मलाई यो नम्बर–९८५१०६०२८८ मा फोन गर्नुस् । म तपाईको कोठामै राहत सामग्री लिएर आउने छु ।”
केही दिनदेखि काठमाडौँमा रहेका विद्यार्थी, मजदुर, अपाङ्ग र असहाय नागरिकलाई अभियानकै रुपमा राहत सङ्कलन गरेर वितरण गरिरहेको सांसद भट्टराईले बताउनुभयो । आफूले प्रचारमुखी नभई लकडाउनको मारमा परेका जिल्लाबासीलाई थोरै भएपनि सहयोग गर्ने उद्देस्यले राहत वितरण गरेको सांसद भट्टराईको भनाइ छ ।
सांसद भट्टराई आफै राहत सामग्री लिएर अलपत्र खोटाङ्गे जनताको कोठामै पुगेर बाढ्दै हिँडेपछि सामाजिक सञ्जालमार्फत उहाँको प्रशंसा गर्दै धन्यवाद दिनेको आइरो लागेको छ । सासंद भट्टराईले राहत बाँड्दै हिँडेको तस्वीर समाजिक सञ्जाल फेसबुकमा राख्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङकी उपप्रमुख विणादेवी राईले राहत वितरण गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ । “लकडाउनका कारण काठमाडौँमा अलपत्र बनेर रहनुहुने खोटाङ्गे विद्यार्थी र मजदुरलाई ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानमा खोटाङका प्रतिनिधिसभा सदस्य मा. विशाल भट्टराई, समाजसेवी देवान राई, भक्त थापा लगायत राहत वितरणमा खटिरहनुभएका मनकारीलाई देख्दा धेरै खुसी लागेको छ”, उहाँले लेख्नुभएको फेसबुक स्टाटसमा भनिएको छ, “कोरोना भाइरसबाट सिर्जित लकडाउनको यो बिपतको घडीमा सकारात्मक सोच राखेर राहत वितरण गर्ने व्यक्ति तथा संस्था सबैलाई मुरी–मुरी धन्यवाद ।”
सांसद भट्टराईले विभिन्न दाताहरुलाई अनुरोध गर्दै सङ्कलन गरिएका सामग्री आफै प्याकिङ गर्दै गाडीमा हालेर बुढानिलकण्ठ, महाराजगन्ज, बसुन्धरा, गोङ्गबु, माछापोखरी, कलङ्की, किर्तिपुर, भक्तपुर ठिमी लगायतका ठाउँमा अलपत्र खोटाङ्गे जनतालाई वितरण गरिसक्नुभएको छ । लकडाउनका कारण घर फर्कन नपाएर अलपत्र परेकै ठाउँमा राहत सामग्री पाएपछि खोटाङ्गे जनता पनि हर्षित भएका छन् ।
विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा क्रियासिल सांसद भट्टराईले यसअघि नै आफूले राज्यबाट पाउने एक महिनाको सेवासुविधा बापतको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्नुभएको थियो । दश स्थानीय तह रहेको जिल्लाका कतिपय स्थानीय तहले पनि लकडाउनका कारण काठमाडौँमा रोकिएका आफ्ना जनतालाई सांसद भट्टराईकै हातबाट राहत वितरण गरिरहेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले भने, आफै गएर आफ्नो जनतालाई राहत उपलब्ध गराउनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिले धमाधम राहत वितरणको काम भइरहेको छ ।
लामो समयको लकडाउनका कारण नियमित औषधि सेवन गर्न नपाएका दीर्घरोगीलाई समेत जिल्लाका सबै स्थानीय तहले निःशुल्क औषधि खरिद गरेर उपलब्ध गराई रहेका छन् । ब्लड प्रेसर, सुगर, युरिक एसिड, मुटु रोग, ग्याँस्ट्रिक, अल्सर, पिसाब पोल्ने लगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई स्थानीय तहका जनप्रतिनिधिले उनीहरुको घरैमा लगेर निःशुल्क वितरण गरेको हो ।


