खोटाङ, २६ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’का कारण अवरुद्ध साप्सुखोलामा निर्माणाधीन मोटरेबल पुलको काम पुनः शुरु गर्ने स्वीकृति दिन प्रशासनलाई आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण रोकिएको साप्सुखोलाको मोटरेबल पुलको काम पुनः शुरु गर्ने स्वीकृति दिन जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेको हो ।
निर्माणस्थलमा सोही आयोजनाका कामदारबाहेक अन्य व्यक्तिलाई प्रवेश नदिने शर्तमा पुल निर्माणको काम पुनः शुरु गर्ने स्वीकृति दिन प्रशासनलाई सिफारिस गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “लकडाउन अगाडि निर्माण कम्पनीले १५ जना कामदारलाई काममा लगाएको थियो”, उहाँले भन्नुभयो, “लकडाउनका कारण पुलको काममा ढिलाइ हुने भएकाले सामाजिक दूरी कायम गर्दै तिनै कामदारमार्फत काम अघि बढाउन स्वीकृति दिन प्रशासनलाई आग्रह गरिएको हो ।”
पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सुर्य एण्ड सन्स प्रालि सुनसरीले पनि पुल निर्माणको काम अघि बढाउन प्रशासन समक्ष स्वीकृति माग गरेको जनाइएको छ । वि.सं.२०७८ साल जेठ १७ गते सम्पन्न गर्नेगरी वि.सं. २०७६ साल जेठ १७ गते सम्झौता गरिएको प्रिस्ट्रेस बिम पुल सो गाउँपालिकाको वडा नम्बर–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित साप्सुखोलामा पर्छ ।
करसहित रु पाँच करोड ६० लाख दश हजार ५४५ मा ठेक्का लिएको निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले शिलान्यास भएको छ महिनापछि पुलको काम शुरु गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण शुरु गरिएको साप्सुखोला पुलको शिलान्यास गाउँपालिकाका प्रमुख राईले वि.सं. २०७६ साल असार ११ गते औपचारिक रुपमा गर्नुभएको थियो ।
दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सुखोलामा निर्माणाधीन पुलको काम निर्धारित समयमा सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए उक्त तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो ।
विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्नेगरी साप्सुखोलामा पुल निर्माणको काम अघि बढाइएको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माण गर्न गाउँपालिकाले २०७४ साल कातिक २९ गते सडक बिभागमा निवेदन दिएको थियो ।
साप्सुखोलामा पक्की पुल निर्माण भएपछि उक्त गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आवतजावत गर्ने सबैभन्दा छोटो बाटो खुल्ने छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खानीडाँडा–याम्खा–पञ्चमी–खोटाङबजार सडक खण्डको साप्सुखोलामा पुल नहुँदा करीब छ महिना उक्त सडक अवरुद्ध हुने गरेको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा भने, लकडाउनकै समयमा पनि विकास निर्माणको काम धमाधम भइरहेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्दै निर्माणको कामलाई निरन्तरता दिइएको ठेकेदार कम्पनीले जनाएको छ ।
स्थानीय तहद्धारा सञ्चालन भएका योजना बाहेक अन्य ठूला आयोजनाका काम भने, पूर्णरुपमा अवरुद्ध छ । लकडाउन लागू भएलगत्तै निर्माणस्थलमा खटिएका कामदारलाई ठेकेदार कम्पनीले गाडी रिजर्भ गरेर सम्बन्धित जिल्ला फर्काएका थिए ।


