खोटाङ, ६ वैशाख । जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीले आफ्नो सेवा सुविधा बापतको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री र अन्य सात सदस्यले आफ्नो सेवा सुविधा बापतको रु एक लाख पाँच हजार रकम एक नम्बर प्रदेश सरकारको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका हुन् ।
जिसस प्रमुख चाम्लिङले चैत महिनाको १५ दिनको रु २२ हजार र उपप्रमुख खत्रीले १५ दिनको रु २२ हजार ५०० तथा अन्य सात सदस्यले १२ दिनको रु ८÷८ हजारका दरले कोषमा रकम जम्मा गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा जुटेको प्रदेश सरकारको अभियानमा सघाउ पु¥याउन सेवासुविधा बापतको रकम जम्मा गरिएको प्रमुख चाम्लिङले बताउनुभयो ।
सेवा सुविधावापतको रकम प्रदेश नम्बर एक जनसुरक्षा कोषको नाममा राष्ट्रिय बाणिज्य बैङ्क शाखा कार्यालय बिराटनगरमा खोलिएको खातामा जम्मा गरिएको जनाइएको छ । जिल्लाका दश वटै स्थानीय तहका जनप्रतिनिधिले पनि आफूले राज्यबाट पाएको सेवासुविधा बापतको रकम कोषमा जम्मा गरिरहेका छन् ।
यसअघि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले एक महिनाको सुविधा जम्मा गर्ने घोषणा गर्नुभएको थियो । त्यसयता जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आ–आफ्नो क्षेत्रमा कोष स्थापना गरेर जम्मा गरिरहेका छन् ।


