दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक हजार २४९ परिवालाई राहत

Halesi Khabar

खोटाङ, २ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक हजार २४९ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन लागू गरिएको ‘लकडाउन’को कारण बिहान बेलुका छाक टार्न समस्यामा परेका कामदार तथा विपन्न परिवारलाई नगरपालिकाले रु १५ लाख बराबरको राहत सामग्री वितरण गरेको हो ।

लकडाउनका कारण मारमा परेका दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवारलाई उनीहरुको वडामै पुगेर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “नगरपालिकाभित्र बसोवास गर्ने कसैले पनि भोकभोकै बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “लकडाउनका कारण मारमा परेका मजदुर तथा विपन्न परिवारलाई उनीहरुलाई परेको आवश्यकताको पहिचान गरेर राहतस्वरुप खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको हो ।”

१५ वडा रहेको नगरपालिकामा खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु आपूर्ती व्यवस्थापन गर्न हरेक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधिसमेत रहनेगरि समिति गठन गरिएको थियो । नगरपालिकाले ‘लोककल्याणकारी नीति’ अनुसार ज्यालादारी काममा आत्मनिर्भर तथा विपन्न परिवारलाई चामल, दाल, खानेतेल, नुन र एक÷एक डल्ला हात धुने साबुन वितरण गरेको हो ।

नगरपालिकाले वडा नम्बर–१ दिक्तेलका १७३, वडा नम्बर–२ सोल्माका ९६, वडा नम्बर–३ बाम्राङका ८६, वडा नम्बर–४ खाल्लेका १०५, वडा नम्बर–५ लफ्याङका ९७, वडा नम्बर–६ नेर्पाका ४१, वडा नम्बर–७ दोर्पा ४८, वडा नम्बर–८ दोर्पाचिउरीडाँडाका ९०, वडा नम्बर–९ निर्मलीडाँडाका ६८, वडा नम्बर–१० पाथेकाका ६३ घर परिवालाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । यस्तै, वडा नम्बर–११ खार्मीका ७६, वडा नम्बर–१२ जालपाका ३५, वडा नम्बर–१३ नुनथलाका ३८, वडा नम्बर–१४ बुइपाका ८४ र वडा नम्बर–१५ विजयखर्कका १४९ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।

नगरपालिकाले चामल १२ हजार ४९० केजी, दाल दुई हजार ४९८ केजी, नुन एक हजार २४९ केजी, तेल एक हजार २४९ लिटर र हातधुने साबुन एक हजार २४९ गोटा वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताउनुभयो । नगरपालिकाले दिक्तेल–खानीडाँडा सडक निर्माणको काम गरिरहेका उदयपुर र पथरी मोरङका १९ कामदार तथा दिक्तेल बजारमै दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका १७ परिवारलाई खाद्यान्न उपलब्ध गराएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि लकडाउनको मारमा परेका ज्यालादारी कामदार तथा विपन्न परिवारलाई धमाधम राहत स्वरुप खाद्यान्न वितरण गरिरहेको छ । पूर्वी पहाडी जिल्ला खोटाङमा यस वर्ष लामो समयसम्म गएको खडेरीका कारण अधिकांश स्थानीय तहमा खाद्यान्न अभाव भएको छ ।

खडेरीका कारण जिल्लाका कतिपय स्थानीय तहका किसानका घरमा अन्नबालीको बीउसमेत रहेको छैन । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाले अहिले राहत सामग्रीसँगै मकैको बीउसमेत वितरण गरिरहेका छन् ।

खडेरीले अन्नबाली सखाप भएपछि जिल्लाका अधिकांश स्थानीयवासी दैनिक ज्यालादारी कामका लागि भारत गएका थिए । भारतमा समेत कोरोना भाइरसको महामारी फैलिएपछि लागू गरिएको लकडाउनका कारण कामदार जिल्ला फर्कन पाएका छैनन् ।

तपाईको प्रतिक्रिया