संक्रमितको संख्या थपिएको छ क्वारेन्टाइनमा बसिदिनुस् ः स्वास्थ्य मन्त्रालय

Halesi Khabar

काठमाडौँ । नेपालमा आइतबार थप तीन जना कोरोना संक्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयले परीक्षणको दायरा बढाइरहेको बताउँदै घरमै बस्न आग्रह गर्नुभएको हो ।

शनिबार चैत २२ गते सुदूपश्चिममा ३ जना नयाँ कोरोना संक्रमित फेला परेसँगै आठौँ दिनमा ३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै पर्साको वीरगन्ज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएको जनाएको थियो ।

उनीहरुलाई हाल विरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुसँगै रहेका अन्यलाई क्वारेन्टाइनमा राखिएको छ । भारतीय नागरिक रहेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटोले तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताउँदै यसका लागि टोली गइसकेको बताउनुभयो । तीनवटा नयाँ संक्रमण भेटिएसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या १२ पुगेको छ ।

पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी हाल भने निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया