आइसोलेसनबाट भागेका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि

Halesi Khabar

खोटाङ, २९ चैत । उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेमा फेला परेका एक पुरुषमा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण भएको आशंकामा कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेपछि दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको हो ।

चैत २३ गतेदेखि स्वास्थ्यचौकी दुर्छिमको क्वारेन्टाइनमा राखिएका उनको स्वाव परीक्षणका लागि बिहिबार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा उनलाई चैत १२ गतेदेखि कटारी अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

कटारीदेखि आएर आएका उनको सम्पर्कमा रहेका हैदेका दुई परिवारका आठ जनालाई समेत क्वारेन्टाइनमा राखिएको छ । यसअघि गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुईमध्ये जन्तेढुङ्गा गाउँपालिका–३ का एक युवकको नमूना परीक्षण पनि रिपोर्ट नेगेटिभ देखिएको थियो ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका उनको स्वाब परीक्षणका लागि चैत २१ गते धरान पठाइएको थियो । सोही जहाजमा फर्किएका केपिलासगढी गाउँपालिकाका एक जना भने धरानस्थित क्वारेन्टाइनमा रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिने स्थानीयवासीको सङ्ख्या अधिक भएपनि खोटाङमा क्वारेन्टाइन बस्नेको सङ्ख्या २४ मात्रै पुगेको छ । विदेशबाट फर्किएका व्यक्तिलाई स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून भएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । स्थानीय तहले आ(आफ्नो क्षेत्रमा निर्माण गरेका क्वारेन्टाइन तथा आइसोलेसन वार्ड खाली नै रहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया