कोरोना सङ्क्रमण रोक्न दिक्तेल बजारमा जीवाणु नाशक औषधि छर्कदै नगरपालिका

Halesi Khabar

खोटाङ, २९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा कोरोना भाइरस (कोभिड–१९)को जीवाणु नाश गर्ने रसायन (औषधि) छर्किन शुरु गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेल बजारको रत्नपार्कस्थित किराँतचोकदेखि सोडियम हाईपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट छर्कन शुरु गरेको हो ।

किराँतचोकदेखि शुरु गरिएको सोडियम हाईपोक्लोराइड छर्किने अभियान रत्नपार्क, सङ्गमपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, भवनगैरा लगायतका क्षेत्रमा सम्पन्न गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम ०.५ प्रतिशतको घोल बनाएर औषधि छर्कन थालिएको छ”, उहाँले भन्नुभयो, “दिक्तेल बजार लगायत घनाबस्ती भएका अन्य क्षेत्रमा पनि क्रमशः सोडियम हाईपोक्लोराइड स्प्रे गरिनेछ ।”

हरेक वस्तुको सतहमा रहेका जीवाणु, भाइरस तथा व्याक्टेरिया मार्नका लागि बजारका घना वस्ती, बढी चहलपहल भएको क्षेत्र र सङ्क्रमणको उच्च जोखिमका रुपमा शंका गरिएका ठाउँमा सोडियम हाईपोक्लोराइड छर्किइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताउनुभयो । “जीवाणु, भाइरस तथा ब्याक्टेरिया नाश गर्न २२५ लिटर सोडियम हाईपोक्लोराइड ल्याइएको छ”, उहाँले भन्नुभयो, “एक लिटर सोडियम हाईपोक्लोराइडमा आठ लिटर पानी घोलेर कम्प्रेसर मेसिनमार्फत छर्न थालिएको हो ।”

अभियानको पहिलो दिन शुक्रबार साँझ पाँच लिटर सोडियम हाईपोक्लोराइड र पानीको घोल स्प्रे गरिएको स्वास्थ्य शाखाले जनाएको छ । बजार क्षेत्र सम्पन्न गरेपछि क्रमशः जिल्ला अस्पताल दिक्तेल लगायत मुख्य–मुख्य बजार क्षेत्रमा पनि क्रमशः सोडियम हाईपोक्लोराइड छरिने जनाइएको छ ।

यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका सर्वसाधारणलाई उद्दार गरेर गाउँमा ल्याउन सवारी साधन पठाएको छ । भारतका विभिन्न स्थानमा काम गरेर घर फर्कने गत चैत ११ गतेदेखि सुर्यदल गणले तयार पारेको क्वारेन्टाइनमा राखिएका १८ जनालाई गाउँसम्म ल्याउन नगरपालिकाले शुक्रबार कर्मचारीलाई बससहित टाँडी पठाएको हो ।

क्वारेन्टाइनमा राखिएका नगरबासीको नमूना परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि घरसम्म ल्याउन सवारी साधन पठाइएको नगरप्रमुख इवन राईले बताउनुभयो । टाँडीको क्वारेन्टाइनमा १७ दिन बसेर घर फर्कनेमा वडा नम्बर–८ धितुङका छ जना, वडा नम्बर–४ बडहरेका छ, वडा नम्बर–५ दुर्छिमका तीन र वडा नम्बरा–६ मङ्गलटारका तीन जना रहेका छन् ।

ज्याला मजदुरीको काम गरेर फर्कनेक्रममा बाटैमा क्वारेन्टाइनमा राखिएका उनीहरुलाई अन्यको सम्पर्कमा पुग्न नदिइ सिधै होम क्वारेन्टाइनमा पु¥याउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई गाउँ ल्याउन नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे र देवराज केसी टाँडी पुगिसक्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिने स्थानीयवासीको सङ्ख्या अधिक मात्रामा बढेपनि अहिलेसम्म खोटाङमा क्वारेन्टाइन बस्नेको सङ्ख्या २४ मात्रै पुगेको छ । रोजगारीको सिलसिलामा विभिन्न देशमा बसेर फर्किएका स्थानीयवासीलाई स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून देखिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निर्माण गरेका क्वारेन्टाइन तथा आइसोलेसन वार्ड खाली नै रहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया