तीन जनाको मात्रै उपस्थितिमा राहत वितरण गर्न प्रशासनको आग्रह

Halesi Khabar

खोटाङ, २९ चैत । जिल्ला प्रशासन कार्यालय खोटाङले भीडभाडकाबीचमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ । ‘लकडाउन’को मारमा परेका सर्वसाधारणलाई राहत सामग्री तथा सहयोग वितरण गर्नेक्रममा हरेक ठाउँमा भीडभाड देखिएको भन्दै प्रशासनले तीन जना मात्र उपस्थित हुने व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

स्थानीय तहका प्रतिनिधि एक, सुरक्षाकर्मी एक र एक जना दाताको मात्र उपस्थिति रहनेगरी राहत सामग्री तथा सहयोग वितरण गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “हरेक स्थानीय तहमा राहत तथा सहयोग वितरण गर्नेक्रममा भीडभाड हुने गरेको देखिएको छ”, उहाँले भन्नुभयो, “भीडभाड हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा भएकाले आगामी दिनमा भीडभाड कम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिएको हो ।”

दैनिक ज्यालादारी काम गर्ने तथा विपन्न परिवारलाई राहत वितरण गर्दा सामाजिक दूरी समेत कायम गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ । लकडाउनको मारमा परेका व्यक्तिलाई प्रदान गरिने राहत वितरणको नाममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी कुनै चाडपर्व मनाएझै भेला हुने गरेका छन् ।

यतिसम्म कि कतिपय स्थानीय तहका जनप्रतिनिधि तस्वीर खिचाउनकै लागि भेला हुने गरेका छन् । जिल्लामा लक्षित वर्गलाई वितरण राहत सामग्री भन्दा जनप्रतिनिधि बोक्ने गाडीको लस्कर बढी हुने गरेको पाइएको छ ।

यसैबीच, खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकसँग भेटघाट गर्न घरदैलो अभियान शुरु गरेको छ । विदेशबाट फर्केका नागरिकको होम क्वारेन्टाइनको बसाई, उनीहरु तथा उनीहरुको परिवारको स्वास्थ्य अवस्था लगायतका बारेमा जानकारी लिन गाउँपालिकाले घरदैलो अभियान शुरु गरेको हो ।

नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिन थालेपछि हालसम्म विभिन्न देशबाट घर फर्किएका ३३ जना स्थानीयवासीको घरमा पुगेर स्वास्थ्य जाँच गर्दै उनीहरुको हालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताउनुभयो । “भेटघाटकाक्रममा विदेशबाट फर्किएका व्यक्तिको परिवारका सदस्यको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिने गरिएको छ”, उहाँले भन्नुभयो, “घेटघाटकाक्रममा कोरोना भाइरसबाट बच्ने उपायलाई प्रभावकारी रुपमा अपनाउन सर्वसाधारणलाई सचेत गराइएको छ ।”

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा पिपिई सेट, मास्क, ग्लोब्स, सेनीटाइजर, बाल्टीन, बाटा, सावुन लगायतका स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामग्रीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । नौँ वडामा रहेको उक्त गाउँपालिकामा ५० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

यस्तै, भोजपुरसँगको सिमानामा पर्ने पामाखामभञ्ज्याङ र उदयपुरसँगको सिमानामा पर्ने रसुवधाघाटमा हेल्थडेस्क सञ्चालन गरिएको छ । हेल्थडेस्कमा आइपुगेका स्थानीयवासीको व्यक्तिगत विवरण तथा स्वास्थ्य स्थितिको अभिलेख राख्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रदिप राईले बताउनुभयो ।

गाउँपालिकाले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन रु एक हजार र अन्य स्वास्थ्यकर्मीलाई दैनिक रु ५०० प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले कोरोना भाइरसबाट सर्वसाधारणको बचाउका लागि वडा–वडामा सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

कोरोनाबाट बच्न र बचाउन आवश्यक सचेतनामूलक गतिविधिलाई वडा–वडामा केन्द्रित गरिने गाउँपालिका प्रमुख राईले बताउनुभयो । सचेतनामूलक गतिविधि सञ्चालन गर्न महिला स्वास्थ्य स्वयम्सेविकालाई टोल–टोलमा पहिचान गरिने छ ।

कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै रोजगारीको सिलसिलामा विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढेपनि खोटाङमा अहिलेसम्म २४ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको जिल्लामा स्थानीय तहले विदेशबाट आएकाहरुलाई पनि होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून देखिएको हो ।

तपाईको प्रतिक्रिया