खोटाङ, २८ चैत । खोटाङमा ‘लकडाउन’को मारमा परेका व्यक्तिलाई वितरण गरिने राहत सामग्री एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने भएको छ । विभिन्न संस्था तथा व्यक्तिले जिल्लाका विभिन्न ठाउँमा पुगेर आफूखुसी राहत वितरण गर्न थालेपछि त्यसलाई रोक लगाउन एकद्धार प्रणाली लागू गरिएको हो ।
संस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा आफ्ना नजिककालाई वितरण गरेको पाइएपछि रोक लगाइएको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले बताउनुभयो । “संस्था तथा व्यक्तिले सङ्कलन गरेर ल्याएको राहत उनीहरुलाई नै वितरण गर्न दिँदा बास्तविक पीडितले पाएको देखिएनँ”, उहाँले भन्नुभयो, “बास्तविक पीडितसम्म पु¥याउन र स्थानीय तहलाई जिम्मेवार बनाउन आगामी दिनमा वितरण गरिने राहतलाई एकद्धार प्रणाली लागू गरिएको हो ।”
कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट भित्रिने मुख्य नाकामा चेकजाँचलाई कडाइ गर्ने समेत निर्णय गरेको छ । विदेश तथा शहरबाट जिल्ला भित्रिने व्यक्तिबाट सङ्क्रमण पनि भित्रिने खतरा भएकाले जिल्लाका हरेक नाकाहरुबाट प्रवेश गर्ने व्यक्तिको चेकजाँचमा कडाइ गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख समेत रहनुभएका संयोजक चाम्लिङले बताउनुभयो ।
चेकजाँचकाक्रममा भेटिएका व्यक्तिको नाम, ठेगाना, पालिका पहिचान गर्ने र सम्बन्धित पालिकासँगको समन्वयमा अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय समेत भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । “चेकजाँचका लागि जिल्लाका विभिन्न २१ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई १४ दिनपछि डाक्टर वा स्थानीय तहका स्वास्थ्य शाखा संयोजकको परामर्शमा मात्र छाडिनेछ ।”
यसैबीच, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले गाउँपालिका भित्र प्रवेश गर्ने व्यक्तिलाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने कुनै पनि व्यक्तिलाई तीन हप्तासम्म क्वारेन्टाइनमा राख्ने भएको हो ।
भारत लगायत विभिन्न देशबाट घर आउने स्थानीयका कारण कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा भएकाले क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनुभयो । यसअघि परदेशबाट घर आएका अधिकांश स्थानीयलाई होम क्वारेन्टाइनमा बस्न भनिए पनि बेवास्ता गरेको पाइएकाले आगामी दिनमा गाउँपालिका प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
होम होम क्वारेन्टाइनमा बस्न चाहनेलाई पनि २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने लिखित कागजात गराएर मात्र घर जान दिइने गाउँपालिका प्रमुख शंकरमान राईले बताउनुभयो । “यसअघि आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न छुट दिँदा बेवास्ता गरेको पाइयो”, उहाँले भन्नुभयो, “आगामी दिनमा गाउँपालिका प्रवेश गर्ने जो कोहीलाई क्वारेन्टाइनमा बसेर सजकता अपनाउन लिखित कागज गराइनेछ ।”
सामान्य बिरामी भएका र कोरोनाको शंकास्पद व्यक्तिलाई राख्न चिसापानीमा २० शैयाको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जनाइएको छ । यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना सङ्क्रमित एक युवतीसँगै यात्रा गरेका सो गाउँपालिकाका एक युवकको नमूना परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा हालसम्म २४ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको जिल्लामा स्थानीय तहले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून देखिएको हो ।


