केपिलासगढीका जनप्रतिनिधिले १५ दिनको सुविधा कोषमा जम्मा गर्ने, कोरोनाबारे सचेतनामूलक गतिविधिमा तीव्रता

Halesi Khabar

खोटाङ, २७ चैत । केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधिले १५ दिनको सेवा सुविधा बापतको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिका प्रमुख, उपप्रमुख एवम् सात वटै वडाका वडाध्यक्षले १५÷१५ दिनको सेवा सुविधा बापतको रकम उपचार कोषमा जम्मा गर्ने भएको हो ।

महामारीको सङ्कट सामना गरिरहेको राज्यलाई सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएकाले कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । यसअघि साकेला र खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधिले पनि एक÷एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

यस्तै, प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको थियो । ऐसेलुखर्क गाउँपालिकामा कार्यरत ८७ जना कर्मचारीले ५ दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

यसैबीच, केपिलासगढी गाउँपालिकाले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सर्वसाधारण नागरिकलाई सचेत गराउन सचेतनामूलक गतिविधिलाई तीव्रता दिएको छ । कोरोनाबाट बच्ने र बचाउने भरपर्दो विधि सचेतना भएको निष्कर्षसहित गाउँपालिकाले प्रत्येक वडामा प्रचार–प्रसार गर्ने, टोल–टोलमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीले माइकिङ गर्ने, नागरिकलाई अभिमुखीकरण गराउन वडाध्यक्ष, वडासदस्य र स्वास्थ्यकर्मीबीचमा जिम्मेवारी बाँडफाँड गरेको छ ।

यस्तै, पाँच दिनभित्र अतिविपन्न परिवार पहिचानगरी लगत सङ्कलन गर्ने, वडास्तरीय अनुगमन समिति गठन गरेर वडाभित्र मौज्दाद खाद्यान्न, कालाबजारी, मुल्यबृद्धि नियन्त्रण, म्याद नाघेका समानको निरीक्षण, पालिकाभित्र तयारी अवस्थामा राखिएका स्वास्थ्यकर्मीको मोबाइल टोलीमार्फत घर–घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, नयाँ वर्ष घरमै मनाउन र भीडभाड नगर्न सूचना जारी गर्ने लगायतका निर्णय गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया