एउटा किसानबाट खरिद गरेर अर्का किसानलाई राहत

Halesi Khabar

खोटाङ, २७ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’का कारण बिक्री गर्न नपाएका किसानको तरकारी खरिद गरेर अर्का किसानलाई राहत स्वरुप वितरण शुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न लागू गरिएको ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा बजार नपाएका किसानको काउली र बन्दा खरिद गरेर तरकारी खान नपाएका किसानलाई वितरण शुरु गरेको हो ।

‘लकडाउन’का कारण बजार नपाउँदा अधिकांश तरकारी कुहिने र सडिने अवस्थामा पुग्दा मारमा परेका किसानको राहतका लागि खरिद गरेर वितरण शुरु गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । “लकडाउनका कारण तरकारी कुहिएर र सडिएर खेर जाने भएपछि किसान चिन्तित बनेका रहेछन्”, उहाँले भन्नुभयो, “लकडाउनमा किसानले उत्पादन गरेका कुनै पनि कृषि उपजले बजार पाउँदैन, कुहिएर वा सडेर जान्छ भनेर चिन्ता गर्नु पर्दैन । स्थानीय सरकारले बजारको सुनिश्चित गर्छ ।”

गाउँपालिकाले वडा नम्बर–२ डाँडागाउँका आठ किसान र वडा नम्बर–५ सछितापोखरीका एक किसाले लगाएको १२८ केजी काउली प्रतिकेजी रु ४० र ८२ केजी बन्दा प्रतिकेजी रु ३२ का दरले खरिद गरिदिएको छ । किसानले उत्पादन गरेका तरकारीको बजार सुनिश्चितता गर्न गाउँपालिकाले पहिलो पटक रु सात हजार ७४४ बराबरको तरकारी खरिद गरिदिएको जनाइएको छ ।

गाउँपालिकाले खरिद गरेको तरकारी वडा नम्बर–४ बतासेका स्थानीयलाई राहत स्वरुप वितरण गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “क्रमशः अन्य वडाका किसानले उत्पादन गरेको तरकारी खरिद गरेर अन्य स्थानीयलाई खाद्यान्नसँगै वितरण गरिनेछ”, उहाँले भन्नुभयो, “सबै किसानका तरकारी किनिदिन्छौँ भनेका छौँ । वडामा चिट्ठी पनि पठाएका छौँ । हामी ट्याक्टर लिएर जान्छौँ । किसानको तरकारी खरिद गरेर अन्य सर्वसाधारणलाई निः शुल्क वितरण गर्छौँ ।”

यसैबीच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका दलित, अल्पसङ्ख्यक तथा सिमान्तकृत, एकल महिला, ‘क’ वर्गको अपाङ्ग, विपन्न तथा सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण शुरु गरेको छ । ‘लकडाउन’का कारण दैनिक ज्यालामजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुका छाक टार्नै धौ–धौ अवस्थामा पुगेका परिवारलाई गाउँपालिकाले खाद्यान्न वितरण शुरु गरेको हो ।

बतासेबाट राहत वितरण शुरु गरेको गाउँपालिकाले बुधबार सो स्थानका दलित तथा सिमान्तकृत, ‘क’ वर्गको अपाङ्गता भएका परिवार र अति विपन्नगरी १४५ परिवारलाई खाद्यान्न प्रदान गरेको छ । दलित तथा सिमान्तकृत समुदायका १३३ परिवार, ‘क’ वर्गको अपाङ्गता भएका आठ तथा छाक टार्नै नसक्ने अवस्थामा पुगेका अतिविपन्न चार घर परिवारलाई खाद्यान्न प्रदान गरिएको वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

प्रतिघर २५ केजी चामल, दुई केजी दाल, एक पोका तेल, एक केजी नुन र काउली बन्दा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । राहत वितरण कार्यक्रम क्रमशः अन्य छ वटै वडामा पुगेर सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले जानकारी दिनुभयो ।

दोस्रो चरणमा मध्यम वर्गका परिवारलाई पनि सहुलियतमा खाद्यान्न उपलब्ध गराइने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । लामो समयको लकडाउनले मध्यम वर्गका परिवार पनि समस्यामा पर्न थालेकालेका कारण उनीहरुलाई पनि ढुवानी खर्च बेहोरेर खाद्यान्न उपलव्ध गराउने तयारी गरिएको जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउपालिका रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा राहत वितरण गरिरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रत्येक वडामा रु एक÷एक लाखको खाद्यान्न खरिद गरेर वितरण शुरु गरेको छ ।

जिल्लाका कतिपय स्थानीय तहमा हुनेखाने व्यक्तिले पनि राज्यबाट निःशुल्क पाउनेभन्दै राहत लिएको गुनासो आएको छ । राहत वितरणको नाममा जनप्रतिनिधिले बढी प्रचारवाजी गरेको भन्दै सामाजिक सञ्जालमा बिरोध पनि भइरहेको छ ।

तपाईको प्रतिक्रिया